गिनीमा फुटबल खेलका क्रममा भागदौड मच्चिँदा ५६ जनाको मृत्यु

अफ्रिकी देश गिनीको दोस्रो ठूलो शहर जेरेकोरमा फुटबल खेलका क्रममा भागदौड हुँदा कम्तीमा ५६ जनाको मृत्यु भएको छ । तर, धेरैले मृत्यु हुनेको संख्या १०० हुन सक्ने अनुमान गरेको बीबीसीले जनाएको छ ।

केही रिपोर्टहरूका अनुसार यो घटना रेफ्रीको निर्णयपछि भएको हो । पाहुना टोली लाबेका दुई खेलाडीलाई रेफ्रीले रातो कार्ड देखाएर मैदान बाहिर पठाउँदा पेनाल्टी किक दिएका थिए ।

स्थानीय सञ्चारमाध्यमका अनुसार रेफ्रीसँग आक्रोशित आगन्तुक टोली लाबेका समर्थकहरूले मैदानतर्फ ढुङ्गा हानेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।

समाचारमा जनाइएअनुसार रङ्गशालामा ठूलो भीड थियो । त्यहाँबाट बाहिर निस्कने एउटै बाटो थियो । केही मानिसहरू बाहिर निस्कन पर्खालमा चढेका थिए । पर्खाल चढ्न नसकेकाहरू भित्तामा खसेको समाचारमा उल्लेख छ ।

गिनीका प्रधानमन्त्री ओरी बाहले घटनालाई ‘दुःखद’ भनेका छन् । उनले यस घटनामा जिम्मेवार व्यक्तिको पहिचान गर्ने घोषणा गर्दै मृतकका परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।

सम्बन्धित समाचार