नेपाल आयल निगमले शनिबार हवाई इन्धनमा २ रुपैयाँ प्रतिलिटर वृद्धि गर्दा हवाई भाडामा ९० रुपैयाँसम्म वृद्धि भएको छ ।
हवाई इन्धनको साविक मूल्य १ सय २६ थियो । निगमले दुई रुपैयाँ प्रतिलिटर बढाएपछि आन्तरिक वायुसेवा कम्पनीहरुले बिक्री गर्ने हवाई टिकटमा अधिकतम ९० रुपैयाँ वृद्धि गरेका हुन् । यो वृद्धि टिकट शुल्कभित्र पर्ने फ्युल सरचार्जमा बढेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । बढेको भाडा बुधबार अर्थात भोलिदेखि लागू हुनेछ ।
काठमाडौँबाट हुने माउन्टेन फ्लाइटमा ६५ रुपैयाँ बढेको छ । काठमाडौँ–सिमरा १५ रुपैयाँले वृद्धि भएको छ भने काठमाडौँ धनगढी ९० रुपैयाँले बढेको छ ।
त्यस्तै काठमाडौँ–विराटनगर ५० रुपैयाँ, काठमाडौँ–पोखरा ३०, काठमाडौँ भैरहवा ४०, नेपालगन्ज ६० र सुर्खेत ६५ रुपैयाँले भाडा बढेको क्यानले जनाएको छ ।