स्पेनिस ला लिगामा मायोर्काविरुद्ध ५–१ को सहज जित निकाल्दै बार्सिलोना पुनः अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
मंगलबार राति मायोर्काको मैदानमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन राफिन्हाले दुई गोल गरे । फेरान टोरेस, फ्रयांकी डि योङ र पाउ भिक्टरले समान एक गोल गरे । घरेलु टिमका भेडाट मुरिकीले एक गोल गरेका थिए ।
खेलको १२औँ मिनेटमा टोरेसको गोलमा बार्सिलोनाले अग्रता बनाएको थियो । तर, ४३औँ मिनेटमा मुरिकीको गोलमा घरेलु टिम खेलमा फर्कियो ।
५६औँ मिनेटमा प्राप्त मिनेटमा राफिन्हाले पेनाल्टीमार्फत गोल गर्दै बार्सिलोनालाई २–१ को अग्रतामा राखेका थिए । ७४औँ मिनेटमा राफिन्हाकै गोलमा बार्सिलोनाले अग्रतालाई ३–१ मा पुर्यायो । त्यसको पाँच मिनेटपछि डि योङले गोल गर्दा पाहुना टिमले अग्रतालाई ४–१ मा राखेको थियो । ८४औँ मिनेटमा भिक्टरले गोल गरेपछि बार्सिलोनाले ५–१ को सहज जित पक्का गरेको हो ।
जितसँगै १६ खेलबाट ३७ अंक जोडेको बार्सिलोना तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बार्सिलोनालाई पछ्याइरहेको रियाल मड्रिडको ३३ अंक छ । तर, रियालले बार्सिलोनाभन्दा दुई खेल कम खेलेको छ ।
पराजित मायोर्का भने १६ खेलबाट २४ अंकसहित तालिकाको छैटौँ स्थानमा छ ।