प्रधानमन्त्री केपी शर्मा ओलीले चीनलाई मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयसँग सहकार्य गर्न अनुरोध गरेका छन् ।
चीनको पेकिङ विश्वविद्यालयमा आयोजित कार्यक्रमलाई आज बिहान सम्बोधन गर्दै चीन सरकार र पेकिङ विश्वविद्यालयलाई अनुरोध गरेका हुन् ।
उनले सम्बोधनको अन्तिममा भने, ‘म चीन सरकार र पेकिङ विश्वविद्यालयलाई नेपालका मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयसँग शैक्षिक सहकार्यको लागि अनुरोध गर्न चाहन्छु ।’
सम्बोधनमा ओलीले नेपालको राजनीतिक आन्दोलन , एमालेको जनताको बहुदलीय जनवाद देखी पेकिङ विश्वविद्यालय र मदन भण्डारी विश्वविद्यालय को सहकार्यको प्रस्ताव पनि राखेका थिए ।
नेपाल र चीन प्राचीन ज्ञानका भूमि रहेको बताउँदै उनले महान् दार्शनिकहरू र ऋषिहरूका शिक्षाले पुस्तौंसम्म प्रेरित गर्दै विश्वभरि धेरै जीवनलाई छुने काम गरेको बताए ।
उनले नेपाल ‘एक चीन नीति’मा दृढ रहेको बताउँदै ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’को पनि प्रशंसा गरे ।
चीनले ८० करोड मानिसलाई गरिबीबाट उठाउनु नेपालका लागि प्रेरणादायी विषयसमेत भएको उनले बताए ।