करणको कप्तानी इनिङमा काठमाडौंको पहिलो जित

नेपाल प्रिमियर लिगअन्तर्गत बुधबार त्रिवि क्रिकेट मैदानमा सम्पन्न पहिलो खेलमा काठमाडौँ गुर्खाजले कर्णाली याक्सलाई पराजित गरेको छ ।

कर्णालीले दिएको १५० रनको लक्ष्य काठमाडौंले १९.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । कप्तान करण केसी र सुमित महर्जनको शानदार साझेदारीमा काठमाडौँले एनपीएलमा पहिलो जित निकालेको हो । १० बलको सामना गरेका उनले २८ रन जोडे । करणले २ चौका र २ छक्का हाने ।

सुमित महर्जनले ४० रन जोडेको खेलमा जेरार्ड एरास्मसले ३८ तथा माइकल लेभिटले २२,भीम सार्की ८ र शंकर राना ६ रनमा आउट भए । बलिङतर्फ कर्णालीका सोमपाल कामी, नन्दन यादव, गुल्सन झा, जिसन मक्सुद र विपिन प्रसाद शर्माले समान १ विकेट लिए ।

यसअघि भारतीय खेलाडी शिखर धवनको आक्रामक ब्याटिङको मद्दतमा कर्णालीले काठमाडौंलाई १५० रनको चुनौती पेश गरेको थियो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा काठमाडौँले टस जितेर फिल्डिङ रोजेसँगै ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १४९ रन जोड्यो ।

कर्णालीका लागि भारतीय खेलाडी शिखर धवनले शानदार ब्याटिङ गरे । पहिलो खेलमा चल्न नसकेका धवनले आजको खेलमा भने धुँवादार ब्याटिङ गर्दै ७२ रन जोडे । ५१ बलको सामना गरेका उनले ४ चौका र ५ छक्का हिर्काए । धवनले हिर्काएको अर्धशतक यस सिजनको एनपीएलको छैटौं अर्धशतक हो ।

उनीअघि जनकपुर बोल्ट्सका लहिरु मिलान्था र अनिल साहले अर्धशतक बनाएका थिए । विराटनगर किंग्सका मार्टिन गप्टिल, सुदूरपश्चिमका दीपेन्द्रसिंह ऐरी र चितवन राइनोजका रवि बोपाराले पनि अर्धशतक बनाएका थिए ।

८४ रनमा ५ विकेट गुमेपछि धवनले जीशान मकसुदसँग मिलेर अविजित ६५ रनको साझेदारी गर्दै कर्णालीलाई मध्यम योगफलसम्म पुर्‍याएका हुन् । बलिङतर्फ काठमाण्डुका जेरार्ड एरासमसले २ विकेट लिए भने दिपेश कँडेल, करण केसी, नाथन सोटरले १/१ विकेट लिए ।

सम्बन्धित समाचार