छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु

काठमाडौं : छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ।  झापा, कन्काई नगरपालिका-८ लक्ष्मीपुरस्थित सडकमा प्र१-०३-००१ प १८४६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६५ वर्षीया गितादेवी खत्रीको सोमबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दैलेख, आठबिस नगरपालिका-१ डाबास्थित सडकमा सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको क१ ज ५५ नम्बरको जिप सोमबार दिउँसो दुर्घटना हुँदा जिपमा सवार कालिकोट नरहरी नाथ गाउँपालिका-७ बस्ने ३३ वर्षीय दुर्गा बोगटीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको स्थानीय मेडिकल साङगेतडा हुँदै ट्रमा सेन्टर काठमाडौंमा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अन्य ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कञ्चनपुर, बेदकोट नगरपालिका-१० हात्तीखड्डास्थित सडकमा बेल्डाँडीबाट बजारतर्फ जाँदै सुपप्र०२००३ प ४६७१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँद मोटरसाइकलमा सवार बेल्डाँडी गाउँपालिका-४ बस्ने अमर बहादुर ठकुरीको छोरा ८ वर्षीय ईशबन्धन ठकुरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक समेत २ जनाको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर हुँदै थप उपचारको लागि मायामेट्रो अस्पताल धनगढी पठाइएको छ ।

चितवन, ईच्छाकामना गाउँपालिका-३ चुमलिङटारस्थित सडकमा चुम्लिङटारबाट धादिङ हुग्दी खोलातर्फ जाँदै गरेको बा ५६ प २९८३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा चालक धादिङ वेनिघाट रोराङ गाउँपालिका-३ बस्ने २४ वर्षीय अन्जन सिलवालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।