जनकपुरधाममा तीन दिन मासु-मदिरा बिक्री वितरणमा रोक

विवाहपञ्चमी महोत्सवका अवसरमा जनकपुरधाम नगरक्षेत्रमा तीन दिन मासु, माछा तथा मदिरा बिक्री वितरणमा रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषाले एक सूचना प्रकाशित गर्दै आज रातिदेखि २२ गते रातिसम्म माछा, मासु तथा मदिरा बिक्री वितरणमा रोक लगाएको हो ।

कार्यालयद्वारा जारी सूचनामा जनकपुरधाम उपमहानगरपालिकाको परिक्रमा क्षेत्रभित्र तथा परिक्रमा सडकको दायाँबायाँ मदिरा बिक्री वितरण, पशुपक्षी काटमार, माछा बिक्रीवितरण तथा उत्पादनलगायत अन्य नशालु पदार्थको सेवन नगर्न/नगराउन अनुरोध गर्दै ती वस्तु पूर्ण रूपमा निषेध गरिएको जनाइएको छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी राजुराम कडरियाको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरी सूचना जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जनकपुर नगरदर्शनबाट सुरु हुने विवाहपञ्चमी महोत्सव रामकलेवा गरेसँगै मङ्सिर २२ गते सम्पन्न हुनेछ ।

सम्बन्धित समाचार