कुलमान नभएको मौकामा प्राधिकरणमै कार्यकक्ष बनाएर छिरे ऊर्जामन्त्री (भिडियो)

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खडकाले कुलमान घिसिङलाई बक्यौता उठाउनबाट रोक्न मन्त्रालय छाडेर नेपाल विद्युत् प्राधिकरणमै बस्ने तयारी गरेका छन् ।

प्राधिकरणकै कार्यालयमै बसेर कुलमानको निगरानी गर्नेगरि खडकाले आफ्नो कार्यालय बनाएपछि खडकाको योजना सतहमा आएको हो । बुधबार रत्नपार्कस्थित विद्युत् प्राधिकरणको कार्यालयमा मन्त्री बस्ने कार्यकक्षको उद्घाटन भएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलाई थाहै नदिई खड्काले आफ्नो लागि कार्यालय बनाउने निर्देशन दिएका थिए । सोही अनुसार अहिले प्राधिकरणका अध्यक्षको हैसियतमा खडकाले रङ समेत नसुकेको रत्नपार्कको कार्यकक्षमै बसेर काम गर्ने योजना बनाएका हुन् । बैठक कक्षसहित बनेको कार्यालयको उद्घाटन कार्यक्रममा प्राधिकरणका केही कर्मचारीले स्वागतका लागि बुके लिएर बसेका थिए भने केहीले यसको विरोध समेत गरेको थिए ।

मन्त्रीका लागि बनाइएको कार्यकक्ष प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकक्षभन्दा माथिल्लो तलामा छ । प्राधिकरणमा मन्त्रीका लागि नयाँ कोठा सजाइरहँदा घिसिङ भने माथिल्लो तामाकोसी पुनर्निर्माणको अनुगमनमा थिए । उद्योगी व्यवसायीहरुले देशमा चरम लोडसेडिङ हुँदा जनताको घरको लाइन काटेर डेडिकेटेड र ट्रंकलाइनमार्फत चलाएको विद्युत्को महसुल तिर्न मानेका छैनन् ।

यही महसुल उठाउनुपर्ने पक्षमा कुलमान घिसिङ र महसुल नर्तिने उद्योगीको पक्षमा मन्त्री खड्का छन्  । यही सवालमा मन्त्री खड्का र कार्यकारी निर्देशक घिसिङको दूरी बढेको छ । उद्योगीले कुलमानलाई गलाउन नसकेपछि अहिले राजनीतिक नेतृत्वलाई प्रभावमा पारेर घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने तयारी गरेको भएपनि सफल हुन सकेको छैनन् ।

सम्बन्धित समाचार