सरकारी नम्बर प्लेट बनाएर गाँजा तस्करी, पक्राउ परेका चालक र गाडी सार्वजनिक

सुनसरीको धरानमा प्रहरीले गोली हानेर पक्राउ गरेको गाँजासहितको गाडी चालकलाई प्रहरीले सार्वजनिक गरेको छ।

मंगलबार राति सरकारी नम्बर प्लेटको दुईवटा स्कार्पियो गाडीमा गाँजा बोकेर धनकुटाबाट धरान आउँदै गरेको गाडीलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी रामप्रसाद तिमल्सिनाले बताए । पक्राउ परेका चालक, गाडी र ६९० किलो गाँजा बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

विशेष सूचनाका आधारमा धनकुटाबाट धरानतर्फ आउँदै गरेको बा १ झ ५१२७ नम्बरको सरकारी नम्बर प्लेट लगाएको कालो रंगको टाटा कम्पनीको गाडी र अर्को बा १ झ ४६०५ नम्बरको सरकारी प्लेट लगाएको सेतो रंगको स्कार्पियो गाडी नियन्त्रणमा लिएको डीएसपी तिम्सिनाले बताए ।

गाँजा बोकेको गाडी पक्राउ गर्न धरानका डीएसपी प्रकाश जबेगु नेतृत्वको टोली धरानको शिवधारा पुगेको थियो । गाँजा बोकेको गाडि नियन्त्रणमा लिने क्रममा बा १ झ ५१२७ नम्बरको गाडीका चालकले गाडी भगाएको हुँदा इन्सास राईफलबाट ४ राउण्ड गोली फायर गरेर गाडी नियन्त्रणमा लिएको डीएसपी तिमल्सिनाले बताए । उनले गाडीका चालक मोरङको सुन्दरहरैचा नगरपालिका-११ बस्ने बर्ष ३६ को श्याम कुमार विश्वकर्मालाई तत्काल नियन्त्रणमा लिएको र अर्को बा १ झ ५१२७ नम्बरको गाडीका चालक भाग्न सफल भएको बताए ।

गाँजा तस्करको समूहले निजी गाडीमा सरकारी नम्बर प्लेट राखेको देखिएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी प्रकाश जबेगूले जानकारी दिए । उनका अनुसार तस्करको समूहले संघीय सरकारको कानुन मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गाडीको नम्बर तस्करीमा प्रयोग भएको गाडीमा राखेका थिए ।

तस्करको समूहले यसअघि एम्बुलेन्स, इन्धन बोक्ने ट्यांकरमा पनि गाँजा तस्करी गरेको थियो । पछिल्लो समय सरकारी नम्बर प्लेट राखेर तस्करी गरेको भेटिएको हो ।

गाँजा बोकेको गाडी नियन्त्रणमा लिन प्रहरीले चलायो गोली

सम्बन्धित समाचार