निर्माणाधीन कालीगण्डकी करिडोरमा एक साता सवारी आवागमन बन्द हुने भएको छ । कालीगण्डकी करिडोर योजनाअन्तर्गत गुल्मीको हर्मिचौरदेखि बागलुङको बलेवा सडक खण्डमा एक साताका लागि सवारी आवागमन बन्द हुन लागेको हो ।
कालीगण्डकी करिडोर गैँडाकोट–राम्दी–मालढुंगा सडक योजनाले जिल्ला प्रशासन कार्यालय गुल्मी, पाल्पा र बागलुङलाई पत्राचार गरी मंसिर १९ देखि एक साताका लागि सडक बन्द हुने जानकारी दिएको हो ।
सडक योजनाअन्तर्गत गुल्मीको कालीगण्डकी गाउँपालिका–२ स्थित अर्बेनी–हर्मिचौ सडक खण्डमा पर्ने गरेको जोखिमयुक्त भिर काट्नुपर्ने भएकाले उक्त सडकमा सवारी आवागमन बन्द हुन लागेको कालीगण्डकी करिडोर सडक योजनाका इञ्जिनियर अरुण खत्रीले बताए ।
प्रत्येक दिन बिहान ६ देखि साँझ ६ बजेसम्म उक्त सडक बन्द हुनेछ । यात्रु तथा सवारी साधनको सहजताका लागि हर्मिचौर–मिर्मी–आधिदोभान हुँदै पुर्तिघाटतर्फको सडक प्रयोग गर्ने गरी आवश्यक सहजीकरणका लागि उक्त सडकअन्तर्गत पर्ने स्थानीय जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरिएको छ ।
सडक बन्द हुने भएपछि कालीगण्डकी गाउँपालिकाले पनि सरोकारवाला यात्रु तथा सवारी साधनलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरिएको प्रमुख प्रशासकीय अधिकृत नरेश गिरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।