ग्लोबल आइएमई बैंक र तानसेन नगरपालिकाबीच समझदारी पत्रमा हस्ताक्षर

बैंकले किसानहरुलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने

ग्लोबल आइएमई बैंक लिमिटेड र तानसेन नगरपालिकाबीच कृषि अनुदान कर्जामा साना किसानको पँहुच बढाउनको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

बैंक र नगरपालिकाको अगुवाईमा हेफर इन्टरनेशनल नेपाल एवम् ग्रामीण आर्थिक विकास संघसंगको समन्वयमा कृषि अनुदानकर्जा सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर भएको हो । बैंककोतर्फबाट लुम्बिनी प्रादेशिक कार्यालयका उप–प्रमुख जोगलाल भुषाल र तानसेन शाखाका शाखा प्रबन्धक बिर बहादुर सारु तथा तानसेन नगरपालिकाका मेयरअशोक कुमार शाहीले उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार ग्लोबल आइएमई बैंकले तानसेन नगरपालिकाको विभिन्न ठाउँहरुमा बाख्रा पालन, डेरी, तरकारी खेती, कुखुरापालन, बङ्गुरपालन, माछापालन तथा विभिन्न फलफूलहरुको उत्पादन गर्ने कृषकहरुलाई नगरपालिकाको सिफारिसमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनेछ भने उद्यमशील कृषकहरुलाई तानसेन नगरपालिकाको समन्वयमा ग्रामीण आर्थिक विकास संघको सहजिकरणमा हेफर इन्टरनेशनल नेपालले तालिम तथा प्राविधिक सहयोग प्रदान गर्नेछ ।

मुलुकभर तथा मुलुक बाहिर शाखा सञ्जाल रहेको ग्लोबल आइएमई बैंकले बैंकिङ्ग सेवाको पहुँच पु-याउने उद्देश्यले ७६ जिल्लामा २७३ शाखा, २४८ एटीएम, २५७ शाखा रहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८०० भन्दा बढि सेवा केन्द्रबाट ग्राहकवर्गलाई सेवा प्रदान गरिरहेको छ । ‘सबैका लागि बैंक’ भन्ने नाराका साथ बैंकले २३ लाखभन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार