काठमाडौं महानगरपालिकाले ३०औं महानगर दिवसको अवसरमा विभिन्न कार्यक्रम आयोजना गर्ने भएको छ ।
यही मंसिर २९ गते दिउँसो ३ बजे टुँडिखेल मैदानमा सांगीतिक कार्यक्रम हुनेछ । काठमाडौं महानगरपालिकाले प्रस्तुति दिने कलाकारको लाइनअप सार्वजनिक गरेको छ, जसमा पछिल्लो समय निकै रुचाइएका संगीतकर्मी र समूह छन् ।
दीप श्रेष्ठ, ओमविक्रम विष्ट, योगेश्वर अमात्य, सञ्जय श्रेष्ठ, जेम्स प्रधान, सुगम पोखरेल एण्ड बाजागाजा, अस्मिता अधिकारी, रचना रिमाल, उर्गेन दोङ, केहर एण्ड जोय, कुमा सागर एण्ड द ख्वप, सुजन चापागाईं, एकदेव लिम्बू, महेश काफ्ले, बाबुकृष्ण परियार, सुजिल कर्माचार्य, इन्द्रकला राई, सागर प्रजापति, सुशान्त घिमिरे र सन्दीप विष्टले प्रस्तुति दिन लागेका हुन् ।
यस्तै, औपचारिक कार्यक्रममा स्थानीय मौलिक झाँकी प्रदर्शनी, विभिन्न क्षेत्रमा ख्यातिप्राप्त व्यक्तित्वलाई सम्मानलगायतका कार्यक्रम गरिने महानगरले जनाएको छ । मौलिक खानाका स्टलहरू र मौलिक वस्तु तथा सामग्रीको प्रदर्शनले स्थानीय परम्परा र संस्कृति झल्काउने विश्वास महानगरले लिएको छ ।
कार्यक्रममा नि:शुल्क प्रवेश र (काठमाडौं टावर)मा नि:शुल्क पार्किङको व्यवस्था गरिएको छ । यो कार्यक्रम स्थानीय संस्कृति, कला र परम्परालाई प्रवर्द्धन गर्ने प्रयास भएको महानगरले जनाएको छ ।