बैंकर्स संघको अध्यक्षमा दुईजना आकाङ्क्षी, सर्वसम्मतिको प्रयास जारी

वाणिज्य बैङ्कका प्रमुख कार्यकारी अधिकृतहरूको संस्था नेपाल बैंकर्स संघको अध्यक्षका लागि पुस  ३ गते निर्वाचन हुने भएको छ । बैंकर्स संघको ३८ औं साधारण सभाबाट चयन हुने अध्यक्षका लागि सर्वसम्मतिको प्रयास विफल भए ३ गते निर्वाचन  गर्ने तयारी भएको हो । यसअघि तत्कालीन अध्यक्ष सशीन जोशी दोहोरिन खोज्दा निर्वाचन मार्फत अशोक राणा अध्यक्ष हुँदा बाहेक संघको अध्यक्ष सर्वसम्मतमै चयन भएकाले यस पटक पनि यसको प्रयास भने जारी छ । 
यस पटक अध्यक्षको आकाङ्क्षा राख्नेमा  प्रभु बैङ्कका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र माछापुच्छ्रे बैङ्कका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला देखिएका छन् । सर्वसम्मतिको प्रयास भईरहेपनि उनीहरू दुवैले अध्यक्ष पदको दाबीसहित आफ्नो उम्मेदवारी भने दर्ता गराएका छन् । 

अघिल्लै कार्यकालका लागि अध्यक्षको आकाङ्क्षा राखेका शेरचन बैंकिग क्षेत्रमा कोइराला भन्दा बढी अनुभवी भएकाले आगामी कार्यकालका लागि शेरचनलाई अध्यक्षमा ल्याउनुपर्ने पक्षमा बैंकरहरु देखिएका छन् ।  अघिल्लो पटक सर्वसम्मत अध्यक्ष बनाउनकै लागि पछि हटेका उनलार्ई यस पटक सर्वसम्मत बनाउने प्रयास जारी रहेको बुझिन्छ  । ३ गतेसम्म पनि सर्वसम्मत हुन नसके निर्वाचन गर्ने तयारी भएको बैंकर्स सङ्घले जनाएको छ । 

हाल बैंकर्स सङ्घको अध्यक्ष एनएमबी बैङ्कका सीईओ सुनिल केसी, उपाध्यक्षमा सन्तोष कोइराला र कार्यकारी सदस्यमा अशोक शेरचन सहित एसबीआई बैङ्कका सीईओ दीपक कुमार डे,सानिमा बैङ्कका सीईओ निश्चल पाण्डे, प्राइम कमर्सियल बैङ्कका सीईओ सञ्जीव मानन्धर, एभरेस्ट बैङ्कका सीईओ सुदेश खालिङ, सिद्धार्थ बैङ्कका सीईओ सुन्दर प्रसाद कँडेल छन् । एसबीआइ बैङ्कबाट डे पनि बिदा भइसकेका छन् । डे बिदा भएसँगै दुई वटा सदस्य पद खाली छन् । खाली हुने पदमा थप नयाँ आउनेछन् ।

हाल नेपालमा २० वटा वाणिज्य बैङ्कहरू रहेकाले निर्वाचन हुँदा  तीनै बैङ्कका सीईओहरुले अध्यक्ष चयनका लागि मतदान गर्न पाउनेछन  । बैंकर्स संघमा अध्यक्षबाहेक ७ जना कार्यकारी सदस्य रहने व्यवस्था छ । 

सम्बन्धित समाचार