ज्यान मार्ने उद्योग कसुरमा फरार रहेका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई काठमाडौंका विभिन्न क्षेत्रबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा संखुवासभाको चिचिला गाउँपालिका-२ घर भई काठमाडौं महानगरपालिका-१७ ज्याठा बस्ने २४ वर्षीय लाक्पा शेर्पा, नुवाकोटको तादी गाउँपालिका-१, उर्लेनी घर भई काठमाडौं महानरपालिका-१७ ठँहिटी बस्ने २१ वर्षीय रञ्जित तामाङ, तनहुँको आबुखैरेनी गाउँपालिका-१ सत्रसय घर भई काठमाडौं महानगरपालिका-१३ बाफल बस्ने २२ वर्षीय कृष्णवीर मगर भन्ने कृष्पिन थापा, काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका(९ घर भई काठमाडौं महानगरपालिका-१६ बालाजु बस्ने २६ वर्षीय सोनु लामा र काभ्रेको सोही ठाउँ घर भई बालाजु नै बस्ने २१ वर्षीया राधा लामा रहेका छन् ।
गत असोज १६ गते राति १२ बजे उनीहरूले ठमेलको जेपी मार्गस्थित कर्मा क्लब नजिकै निरज बडुवाललाई ज्यान मार्ने उद्देश्यले रड, नक लगायत धारिलो हतियार प्रहार गरी घाइते बनाएका प्रहरीले जनाएको छ ।
यो घटनापछि उनीहरूविरुद्ध असोज २६ गते प्रहरी वृत्त, सोह्रखुट्टेमा ज्यान मार्ने उद्योग कसुरमा मुद्दा दर्ता भएको थियो । मुद्दा दर्तापछि फरार रहेका उनीहरूलाई अपराध महाशाखाको टोलीले मंगलबार काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको अपराध अनुसन्धान कार्यालयका एसपी, काजी कुमार आचार्यले जनाए ।
एसपी आचार्यका अनुसार पक्राउ परेका पाँचै जनालाई आवश्यक अनुसन्धान तथा कानूनी कारबाहीका लागि प्रहरी वृत्त, सोह्रखुट्टे पठाइएको छ।