आगामी पुस २ गतेका लागि डाकिएको प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक सरेको छ । आज बसेको स्थायी समितिको बैठकले पुस २१ गतेसम्म बैठक सार्ने निर्णय गरेको हो ।
खबरदारी सभा र पालिका सम्मेलन एकसाथ गर्ने भनिएकोमा मंसिर मसान्तसम्म हुन नसकेकाले त्यसको तयारीका लागि बैठक सारिएको माओवादीले जनाएको छ ।
यसअघि २६ कात्तिकमा बसेको पदाधिकारी बैठकले पुस २ गतेका लागि केन्द्रीय समिति बैठक बोलाएको थियो । उक्त बैठकको तयारीका लागि पुस १८, १९ र २० गते लगातार तीन दिन स्थायी समिति बैठक बस्ने निर्णय भएको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए ।
‘त्यसको तयारीका लागि स्थायी समितिको बैठक १८, १९ र २० गते बस्ने निर्णय भएको छ,’ उनले भने । खबरदारी सभा र पालिका सम्मेलन एकैसाथ गर्ने भनिएपनि त्यो हुन नसकेपछि तयारीसहित अब २१ गते बस्न लागेको उनले बताए ।