नेपाललाई विश्व बैंकको १० करोड डलर स्वीकृत, विपद् न्यूनीकरण, जलविद्युत् विस्तारमा खर्चिइने

विश्व बैंकले नेपाललाई दिने १० करोड अमेरिकी डलर (करिब १३ अर्ब ५० करोड रुपैयाँ बराबर) को ऋण स्वीकृत गरेको छ ।

विश्व बैंक कार्यकारी निर्देशकहरूको बोर्ड बैठकले नेपालाई दिने उक्त रकम बराबरको ऋण स्वीकृत गरेको हो ।

आज अमेरिकाको वासिङ्टनमा बसेको बैंकको कार्यकारी निर्देशक बोर्डले नेपालको दिगोपनका लागि सक्षम वातावरण सुधार्ने लक्ष्यसहितका तीन वटा डीपीओ कार्यक्रमअन्तर्गत १० करोड डलर स्वीकृत गरेको विश्व बैंकले जनाएको छ ।

‘नेपालमा कार्यान्वयन भइरहेको हरित, उत्थानशील र समावेशी विकास (ग्रिड) हासिल गर्ने प्रयासलाई सहयोग गर्न विकास नीति सञ्चालन (डीपीओ) अन्तर्गत यो ऋण प्रदान गरिएको विश्व बैंकले जनाएको छ । विश्व बैंकका अनुसार डीपीओको दोस्रो शृंखलाअन्तर्गत सहयोग भएको हो ।

‘कार्यक्रममा आधारित यो डीपीओ शृंखला नेपाललाई अझै बढी उत्थानशील बनाउन तथा दिगोपन हासिल गर्न उत्प्रेरकको काम गर्ने छ, यसले नेपालीका लागि दीर्घकालीन विकासको आधार सृजना र संरक्षण गर्ने छ,’ नेपाल, माल्दिभ्स तथा श्रीलंकाका लागि विश्व बैंकका देशीय निर्देशक डेभिड सिस्लेनले भने ।

सन् २०२१ देखि नेपालले वातावरणीय दिगोपन, लचिलोपन र समावेशी विकासको क्षेत्रमा कार्यको महत्वाकांक्षी कार्यक्रम तय गरेको र बेरोजगारी, महामारी, जोखिममा परेका समूहका लागि आर्थिक अवसर विस्तार एवं जनताको समृद्धि र वातावरणलाई असर गर्ने जलवायु अनि अन्य वातावरणीय जोखिमका चुनौती सम्बोधन गर्न यसले सघाउने अपेक्षा बैंकको छ ।

विश्व बैंकले डीपीओ शृंखलाअन्तर्गत नेपाललाई थप दिगो विकासको बाटोतर्फ अघि बढाएको र वायुको गुणस्तर सुधार, विपद् जोखिम न्यूनीकरण, जलविद्युत सेवा विस्तार, सिँचाइ एवं सुरक्षित खानेपानी आपूर्तिलाई बढाएर जलसुरक्षामा सुधार गर्ने, सामुदायिक वन व्यवस्थापनलाई सुदृढ गर्ने र भू–उपयोग योजनालाई अभिवृद्धि गर्ने लक्ष्य राखेको जनाएको छ ।

सहयोगले नेपालको नीति कार्यक्रमले लाखौं नागरिकको रोजगारी, जीविकोपार्जन, स्वास्थ्य र लचिलोपनका लागि महत्वपूर्ण विभिन्न क्षेत्रमा लगानी आकर्षित र विस्तार गर्न मद्दत गर्ने लक्ष्य यो सहयोग राखेको बैंकले बताएको छ ।

सम्बन्धित समाचार