दक्षिण भारतीय अभिनेता अल्लू अर्जुन जमानतमा छुटेका छन् । भागदौडमा महिलाको मृत्यु प्रकरणमा सोधपुछका लागि शुक्रबार पक्राउ परेका अर्जुन शनिबार बिहान साढे ६ बजे रिहा भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । अल्लुलाई प्रहरीले शुक्रबार दिउँसो १२ बजे पक्राउ गरेको थियो ।
हैदरावादको सन्ध्या थियटरमा ‘पुष्पा २: द रूल’ चलचित्रको प्रिमियर सोको क्रममा भागदौड मच्चिँदा ३५ वर्षकी महिलाको मृत्यु भएको घटनामा शुक्रबार पक्राउ परेका अल्लूलाई तेलांगना उच्च अदालतले जमानतमा रिहा गरेको हो ।
त्यसअघि अल्लूलाई हैदरावादको अदालतले १४ दिनका लागि न्यायिक हिरासत पठाउन आदेश दिएको थियो । हैदरावादको आदेशविरूद्ध अल्लूका वकिलले उच्च अदालतमा निवेदन दिएका थिए। त्यसबारे शुक्रबार नै तेलांगना उच्च अदालतले अल्लूलाई न्यायिक हिरासत पठाउने आदेश उल्ट्याएर उनलाई जमानतमा रिहा गर्न आदेश दिएको हो ।