२ डिग्री सेल्सियसमा झर्‍यो काठमाडौँको तापक्रम

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम थप घटेको छ । 

आज (शनिबार) बिहान ५:४५ बजे २.५ डिग्री सेल्सियस रहेको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम बिहान ८:४५ बजे २ डिग्री सेल्सियसमा झरेको हो । 

मौसम पूर्वानुमान महाशाखाको विवरणअनुसार काठमाडौँका लागि यो तापक्रम यस वर्ष लागेयताकै कम हो । 

मौसम महाशाखाका अनुसार आज सबैभन्दा कम न्यूनतम तापक्रम जुम्लामा माइनस ७.२ डिग्री सेल्सियस छ । सबैभन्दा बढी न्यूनतम तापक्रमचाहिँ विराटनगरमा ९ डिग्री सेल्सियस छ । 

शुक्रबार रातिदेखि नै बादल नलागेर आकास खुल्ला भएकोले न्यूनतम तापक्रम घटेको हो । सामान्यतया बादल नलाग्दा न्यूनतम तापक्रम घट्छ भने बादल लाग्दा अधिकतम तापक्रम घट्छ । शुक्रबार राति काठमाडौंको न्यूनतम तापक्रम ३.१ डिग्री सेल्सियस मापन भएको थियो ।

आज शनिबार र भोलि आइतबार मौसम सफा हुने देखिन्छ । काठमाडौं उपत्यकाका खोंचमा र तराई मधेशका जिल्लाहरुमा हुस्सु कुहिरो लागेको छ । योबाहेक उल्लेखनीय मौसमी प्रणाली छैन । केही दिन पानी पर्ने सम्भावना पनि देखिँदैन । त्यसैले केही दिनयता लगातार न्यूनतम तापक्रममा गिरावट आएर जाडो बढेको छ ।

सम्बन्धित समाचार