नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको वर्तमान आर्थिक अवस्था खुम्चिएकाले आमनागरिकमा मनोबल नबढेको बताएका छन् ।
शनिबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १५औँ वार्षिक साधारण सभा एवम् सातौँ महासभामा अध्यक्ष ढकालले अहिले थोरै भए पनि अर्थतन्त्रमा चलायमान भएको तर आमनागरिकको मनोबल नबढेको बताए ।
“आयातमा प्रतिबन्ध लगाउनुका कारण अहिले समस्या आएको छ । वैदेशिक मुद्राको सञ्चितिमात्र बढाउने कामले अर्थतन्त्र बलियो हुँदैन,’’ अध्यक्ष ढकालले भने ।
सरकारले लिएका नीतिका कारण अहिलेको अवस्था आएको उनको भनाइ छ । अध्यक्ष ढकालले भने, “तर, हामीले एक अर्कोलाई दोष लगाएर अघि बढ्न सक्दैनौँ । यस समस्याको समाधान गर्न सबै निकायको सहकार्य आवश्यक छ ।’’
उनले उद्योग क्षेत्रहरू धराशायी भएर व्यवसायीले समयमा ब्याज तिर्न नसकेको र त्यसको परिणामस्वरूप कालोसूचीमा परेको उल्लेख गरे ।
अध्यक्ष ढकालले निजी क्षेत्रका कामहरूको महत्त्व र भविष्यका योजनाबारे सरकारलाई ध्यानाकर्षण पनि गराए ।