सिरहामा दुर्घटनामा परेको कारबाट १३० किलो गाँजा बरामद भएको छ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत जिल्लाको धनगढीमाई नगपालिका १० जिरोमाईलमा दुर्घटनामा परेका कारबाट १ सय ३० किलो गाँजा बरामद भएको हो।
पूर्वबाट पश्चिमतर्फ गईरहेको ना ३ ख ७५९१ नम्वरको ट्रकमा उत्तर तर्फको सहायक सडकबाट आईरहेको बा २८ च ९९६३ नम्वरको कार आपसमा ठोकिएर दुर्घटना भएको कारमा सो परिणामको गाँजा फेला परेपनि प्रहरीले आर्थिक बार्गेनिङ गरि गाँजा तस्करलाई भगाइदिएको स्थानीयहरुको आरोप छ।
कार ठोकिए लगतै कारभित्रबाट २३ जना मानिसहरु निस्केर भित्रबाट पोकाहरु झिक्दै सीटी रीक्सामा हालेर भाग्नु र प्रहरीले देखेर पनि नदेखे झै गर्नुले पनि आर्थिक सेटिङ्ग रहेको पुष्टि गर्छ।
प्रहरीले ट्रक र कार नियन्त्रणमा लिएको भएपनि त्यसमा रहेका मानिसहरुका बारेमा केही बताउन चाहेनन् । एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको भनिए पनि उनी ट्रकका चालक हुन या कारका भन्ने खुलेको छैन।
यता जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी बीरेन्द्र कुमार पासवानले दुर्घटनामा परेको कारमा गाँजा बरामद गरीएको भए पनि सवै विवरण आउन बाकी रहेको बताए। उनले भने, ‘घटना स्थलमा मातहतका प्रहरीले काम गरिरहेको छ। सवै विवरणहरु आईपुगेको छैन। विवरण आईपुग्ने वितिकै तपाईहरुलाई जानकारी भईहाल्छ´ भन्दै पन्छिएका छन्।
भारतको बिहारमा मदिरा बन्द गर्नुको कारण भारतीय बजारमा गाँजाको माग बढेकोले नेपालबाट प्रतिबन्धित लागुऔषध गाँजा प्रहरीकै मिलोमतोमा व्यापक तस्करी भइरहेको स्थानीयहरुको भनाइ छ।
धनगढीको उत्तरीक्षेत्रमा गाजाँ सङ्कलन गरी जिरोमाईल बडियारपट्टी हुँदै भारतीय बजार सम्म जाने गरेको स्थानीयहरु बताउँछन्। प्रहरीकै मिलेमत्तोमा यसक्षेत्रबाट गाँजा तस्करी हुने गरेको स्थानीहरुको आरोप छ।
कारमा रहेको पाँच बटा कालो प्लाष्टिकमा गाँजा रहेको प्रहरीले पुष्टि गरेको छ। ती पोकाहरुमा २१, वटा पोकाहरुमा २८, २६, २७ र २८ गरी १ सय ३० केजी गाँजा रहेको प्रहरीले जनाएको छ।
अहिलेको घटनामा पनि प्रहरीले ढाकछोप गर्ने प्रयास गरेको स्थानीयले आरोप लगाएको छ।