कागेश्वरीमा आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी महिलाको मृत्यु

Image

आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गर्दा घाइते भएकी महिलाको मृत्यु भएको छ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८, किरातचोकमा बस्दै आएकी ३८ वर्षीया कमला आचार्यको मृत्यु भएको हो ।

चितवनको रत्ननगर नगरपालिका–१२ की आचार्यले शनिबार शरीरमा पेट्रोल छर्केर आगो लगाएकी थिइन् । उनलाई प्रहरीले शनिबारै उद्धार गरेको थियो । बा३५प ५८१८ नम्बरको स्कुटरमा आएर वाग्मती नदी किनारनजिकको खाली जग्गामा उनले आफूमाथि आगो लगाएकी थिइन् ।

जलेर गम्भीर घाइते भएकी उनलाई उपचारका निम्ति साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा लगिएको थियो । उपचारका क्रममा आइतबार बिहान उनको मृत्यु भएको प्रहरी वृत्त बानेश्वरका डीएसपी वीरेन्द्र गोद्दारले जानकारी दिए ।

कमलाका १३ र तीन वर्षीय दुई छोरा छन् । उक्त घटनास्थलनजिकै ‘सुसाइड नोट’ समेत फेला परेको थियो । त्यसमा उनले आफूखुसी आगो लगाएकाले कसैलाई दोष नदिन आग्रह गरेकी छन् । सुसाइड नोटमा उनले आफूले श्रीमान्को केयर समेत गर्न नसकेको उल्लेख गरिएको डीएसपी गोद्दारले बताए । ‘मेरा कारण श्रीमान् र छोराहरूले धेरै दुःख पाए । म कसैलाई दुःख दिन चाहन्न । श्रीमान् र छोराहरू खुसीसाथ बस्नू’ सुसाइड नोटमा उल्लेख गरिएको विषयबारे एक अनुसन्धान अधिकृतले भने ।

विज्ञापन
विज्ञापन