सप्तरीको बोदेबरसाइन–सुभनपट्टी खण्डअन्तर्गत बोदेबरसाइन नगरपालिका–१० खडकपुरमा स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
दुर्घटना हुनेमा मोटरसाइकल पछाडि सवार खडक नगरपालिका–७ कल्याणपुर बस्ने अन्दाजी ३२ वर्षीय मोहम्मद कोराइस अलीको अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।
सुभनपट्टीबाट बोदेबरसाइनतर्फ आउँदै गरेको बीआर ०७ बीएबी ८१७२ नम्बरको भारतीय स्कारपियोले विपरीत दिशाबाट आएका मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल पछाडि सवार अलीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बोदेबरसाइनले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकल चालक खडक नगरपालिका- ११ का अन्दाजी २४ वर्षीय मो। सदाम गम्भीर घाइते भएका छन् । उनको स्थानीय जीवनज्योति अस्पताल बोदेबर्साइनमा उपचार भइरहेको छ । ठक्कर दिने स्कारपियो इलाका प्रहरी कार्यालय बोदेबर्साइनको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
स्कारपियोका चालक फरार छन् । साथै दुर्घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।