सांसदहरू निजी काममा बढी सक्रिय हुँदा कानुन निर्माणमा ढिलाइ भयो : सभामुख

Image

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले कानुन निर्माणको सवालमा संसदीय समिति र सांसदहरूले जागरुकताका साथ काम गर्नुपर्ने बताएका छन् ।

सोमबार काठमाडौँमा आयोजित ‘संसदीय पत्रकारिता अवधारणा र अभ्यास’नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै सभामुख घिमिरेले यस्तो बताएका हुन् । उनले सांसदहरू निजी र निर्वाचन क्षेत्रको काममा बढी जाने गरेका कारण संसदीय समितिमा कोरम नपुग्ने समस्या रहेको गुनासो पनि गरे ।

सभामुख घिमिरेले भने, ‘संसदीय अभ्यासमा विधेयकबाट कानुन बनाउने सवालमा संसदीय समितिहरू हुन्छन्। ती समितिहरू अहिले पनि कार्यरत छन्। अहिले हाम्रो समितिमा पर्याप्त विधेयक छैनन् । तथापि १५(२० वटा विधेयक समितिको छलफलको क्रममा छन् । ती विधेयकमाथि छलफल नै अगाडि बढेन। समितिको कोरम नै पुगेन । र सांसहरू संसदप्रति उत्तरदायी भएनन् भनेर बाहिर टीकाटिप्पणीहरू भइरहेका छन् । यसका लागि सिंगो संसद र सभामुखको नाताले प्रतिनिधि सभाका यी समितिहरूप्रति मेरो ध्यान गएको छ । समितिहरूलाई नियमित ढंगबाट सञ्चालन गर्नका लागि पटकपटक भन्दै आएको छु ।’

उनले संसद र समितिहरूलाई प्रभावकारी बनाउन सबै सांसदले भूमिका खेल्न जरुरी रहेको धारणा पनि राखे । विद्यालय शिक्षा विधेयक र संघीय निजामती विधेयक छिटो ल्याउन आफूले निरन्तर निर्देशन दिइरहेको तर सांसदहरूको ध्यान नपुग्दा ढिलाइ भइरहेको उनको भनाइ छ ।

उनले भने, ‘संघीयतामा चारैतिरबाट प्रश्न उठेका बेला संघीयतालाई आवश्यक पर्ने विधेयकहरू ल्याउन छलफल गरिरहेको छु । विद्यालय शिक्षा विधेयक शिक्षा समितिमा छलफलमा छ । त्यसमा भइरहेका समस्याहरू के हुन् ? मैले बारम्बार निर्देशित गर्ने काम गरेको छु । त्यसैगरी निजामती सेवा विधेयकलाई सम्पन्न गर्नको लागि सम्बन्धित समितिलाई भनिरहेको छु । अहिले पूर्वाधार विकास समितिमा केही मात्र विधेयक छन् । ती विधेयकलाई संसद चल्नुभन्दा पहिले प्रतिवेदन दिने सहमति गर्नुभएको छ । सांसदहरू निजी र निर्वाचन क्षेत्रको काममा बढी जाने संसदीय गतिविधिमा कम आउने, समितिहरूमा कोरम नपुग्ने, समितिलाई महत्त्व नदिने, ऐन कानुनहरू बनाउने कुरामा सांसदहरूले ध्यान दिनुभएको छैन भन्ने बाहिर परिरहेको छ । यो बाहिर पनि केही समस्याहरू छन् ।’

विज्ञापन
विज्ञापन