एनपीएल: सुदूरपश्चिम र जनकपुरले क्वालिफायर खेल्दा कर्णाली र चितवनले एलिमिनेटरमा भिड्ने

Image

नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ समीकरण पूरा भएको छ ।

सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सविरुद्ध ६ विकेटको जित निकालेसँगै प्रतियोगिताको शीर्ष चार टिम पक्का भएका हुन् ।

कर्णालीविरुद्धको जितसँगै लिग चरणको शीर्ष स्थान सुनिश्चित गरेको सुदूरपश्चिम रोयल्सले सात खेलबाट १२ अंक जोडेको छ । दोस्रो स्थानको जनकपुरले सात खेल खेल्दा पाँच जित र दुई हारसहित १० अंक जोडेको छ । बुधबारदेखि सुरु हुने प्रतियोगिताको प्लेअफमा अब शीर्ष स्थानको सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सविरुद्ध पहिलो क्वालिफायर खेल्नेछ । यो खेलको विजयी टिमले सोझै फाइनलमा स्थान बनाउनेछ ।

यस्तै, तेस्रो स्थानको चितवन राइनोजले सात खेलबाट चार जित र तीन हारसहित आठ अंक जोडेको छ । चौथो स्थानमा रहेको प्लेअफ यात्रा तय गरेको कर्णाली याक्सले पनि सात खेलबाट चारमा जित र तीन खेलमा हारसहित आठ अंक नै जोडेको छ । चितवन र कर्णालीले एलिमिनेटर खेल्ने छन् ।

पहिलो क्वालिफायरमा हार्ने टिमले भने फाइनल प्रवेशका लागि पुनः मौका पाउनेछ । जसअनुसार पहिलो क्वालिफायरमा पराजित हुने टिमले दोस्रो क्वालिफायरमा इलिमिनेटर विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

इलिमिनेटर खेल बुधबार बिहान ९ बजेदेखि र पहिलो क्वालिफायर खेल सोही दिन दिउँसो १ बजेदेखि सुरु हुनेछ । यी दुवै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछन् ।

प्रतियोगिताको दोस्रो क्वालिफायर भने बिहीबार हुनेछ । यस्तै, फाइनल खेल शनिबार कीर्तिपुरमै हुनेछ ।

प्रतियोगिताको पहिलो संस्करणमा आठ टिमले प्रतिस्पर्धा गरेका थिए । जसमध्ये काठमाडौं गुर्खाज, विराटनगर किंग्स, पोखरा एभेन्जर्स र लुम्बिनी लायन्स भने लिग चरणबाटै बाहिरिए ।

विज्ञापन
विज्ञापन