नेपाल इन्भेष्टमेन्ट कम्पनीको सीईओमा रत्न बज्राचार्य नियुक्त

Image

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वमा स्थापना भएको ‘नेपाल इन्भेष्टमेन्ट कम्पनी’मा पूर्वबैंकर रत्नराज बज्राचार्य प्रमुख कार्यकारी अधिकृत नियुक्त भएका छन् ।

चन्द्र ढकालकै ग्लोबल आईएमई बैंकका पूर्वसीईओ रहेका बज्राचार्यलाई इन्भेष्टमेन्ट कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको हो । उनीसँग करिब डेढ दशकभन्दा बढी बैंकिङ क्षेत्रमा बिताएको अनुभव छ ।

गत वैशाखमा स्थापित नेपाल इन्भेष्टमेन्ट कम्पनीको सीईओमा नियुक्त भएसँगै अब कम्पनीको काम अगाडि बढ्ने देखिएको हो । १० अर्बको पुँजीसहित स्थापित नेपाल इन्भेष्टमेन्ट कम्पनीले ठूला परियोजना, प्रसारणलाइन, ठूला बस्ती विकास, हाइवे, हाइड्रो पर्यटन लगायतका क्षेत्रमा लगानी गर्ने योजना छ ।

सोहीअनुसार सम्बन्धित क्षेत्रका व्यवसायीहरुलाई कम्पनीको सञ्चालक बनाइएको छ । सञ्चालकमा नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्ल, नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्ष विष्णुकुमार अग्रवाल, नेपाल उद्योग तथा व्यवसायी महासंघका संयोजक भागिरथ सापकोटा र नेपाल उद्योग वाणिज्य महासंघको लगानी तथा अन्तर्राष्ट्रिय मामिला फोरमका सभापति मनोज पौडेल छन् ।

देशैभरका साना तथा ठूला सबै किसिमका उद्योगी व्यवसायीले लगानी गर्न पाउने गरी पुँजी संरचनासहित स्थापित कम्पनीमा सीईओको नियुक्तिसँगै सञ्चालन अगाडि बढ्ने देखिएको हो । सञ्चालनमा आएसँगै कम्पनीले भावी दिनमा आईपीओ समेत जारी गर्ने उद्देश्य राखेको छ ।