नेकपा (एकीकृत समाजवादी) ले कुनै पनि दलसँग एकता नगर्नेबारे सहमति जुटाएको छ । विगत पाँच दिनदेखि जारी स्थायी कमिटी बैठक आज पनि टुङ्गिएको छैन । तर, कुनै पनि दलसँग पार्टी एकता नगर्ने विषयमा भने सहमति जुटेको उपाध्यक्ष जगन्नाथ खतिवडाले बताए ।
माओवादी केन्द्र सहितको समाजवादी मोर्चामा एकीकृत समाजवादी रहेकाले बेलाबेला पार्टी एकताको चर्चा हुने गरेको छ । तर त्यस्तो चर्चाको खण्डन हुनेगरी एकीकृत समाजवादीले तत्काल कुनैपनि कम्युनिष्ट पार्टीसँग एकताको संभावना नरहेको निष्कर्ष निकालेको छ । एकीकृत समाजवादीले सहकार्यका लागि भने मार्ग खुल्ला राखेको छ ।
‘आजको अवस्थामा देशका अन्य कुनै पनि कम्युनिष्ट पार्टीसँग एकीकरण गर्ने, पार्टी एकता गर्ने आजको अवस्था नरहेको, तर सहकार्यको सम्भावना सधैं जिवित रहेको हुँदा विभिन्न राष्ट्रिय एजेण्डाहरुमा सहकार्य गर्न हामी सबैलाई स्वागत पनि गर्छौं । सबैसँग सहकार्य गर्न तयार छौं । तर, कुनै पार्टीसँग एकता गर्ने सम्भावना आज नरहेको कुरा जानकारी गराउँछौं । यो विषयमा सहमति भइसकेको कुरा हो । भोलि यो विषयमा निर्णय आउँछ,’ उपाध्यक्ष खतिवडाले भने ।
पार्टीप्रति नेता तथा कार्यकर्तामा बढ्दो निराशाको कारण अध्यक्ष माधव कुमार नेपालले पार्टी एकताको एजेण्डा अगाडि बढाएका थिए । तर, उपाध्यक्ष खतिवडा, सम्मानित नेता झलनाथ खनाललगायतको तीब्र दवाबका बीच अध्यक्ष नेपालले एकताको एजेण्ड छोडेका छन् । बैठक पुनः भोलि दिउँसो १ बजेका लागि बोलाइएको छ ।