प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टहरुको मुख नभइ अपराध हेरेर कारबाही हुने बताएका छन् ।
मंगलबार ललितपुर महानगरपालिकाको १०६ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा सुशासन हुने समेत दाबी गरे ।
‘देशमा भ्रष्टाचार नियन्त्रण गर्नुछ। मैले भनेको छु, भ्रष्टहरुको मुख हेरेर होइन, अपराध हेरेर कारबाही हुन्छ,’ प्रधानमन्त्री ओलीको भनाइ छ, ‘देशमा सुशासन हुन्छ। जनतालाई दुःख दिन कर्मचारीहरुले पनि पाउँदैन । दिनुहुँदैन ।’ प्रधानमन्त्री ओलीले भ्रष्टचार नियन्त्रणबारे यसअघि पनि यस्तै अभिव्यक्ति दिने गरेका थिए ।
उनले जनप्रतिनिधि वा कर्मचारी जो भए पनि जनताको सेवामा तल्लिन हुनुपर्ने जिकिर गरे । ‘हामी जनताका सेवक हौं, हामीभित्र घमण्ड पलाउन हुँदैन,’ प्रधानमन्त्री ओलीले भने ।
त्यस्तै प्रधानमन्त्री ओलीले ललितपुर नगर प्रहरी आतंकको पर्याय नभई रक्षकको पर्याय बनेकामा प्रंशंसा गर्दै जनप्रतिनिधि र कर्मचारीले घमण्ड र तनाव नलिइ सेवाभाव प्रस्तुत गर्नुपर्नेमा जोड दिए ।
‘नगर प्रहरी देख्दा जनताले रक्षक आए भन्ने ठान्नुपर्छ, नगर प्रहरी आउँदा जनता आफ्ना सरसामान हत्तपत्त लुकाएर कहाँ भाग्ने भन्ने आतंकमा रहनुपर्ने अवस्था हुनु हुँदैन,’ प्रधानमन्त्री ओलीले भने, ‘हामी जनताका सेवक हौँ । हामीले शासक र हाकिम हुँ भन्ने प्रवृत्ति बिर्सनु पर्छ। हामीभित्र घमण्ड पस्नु हुँदैन। तनाव लिने र दिने काम पनि गर्नु हुँदैन । हामीले जातीय विविधताको सम्मान र राष्ट्रिय एकतालाई कायम गर्दै सुशासनयुक्त समृद्ध नेपाल निर्माणको बाटामो तीब्रताका साथ अगाडि बढ्नुपर्छ ।’
प्रधानमन्त्री ओलीले व्यवस्था परिवर्तनपछि पूर्वाधारका क्षेत्रमा विकास भएको र सरकार अभिभावक बनेर प्रस्तुत भएको जनाउँदै नसक्नेका र गरिब जनताका लागि अभिभावक बनेर वर्तमान सरकार प्रस्तुत भएको बताए ।