धनुषामा ४० वर्षीया रामपरीदेवी ठाकुरको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ ।
विदेह नगरपालिका–५ मुरिबाकी ठाकुरको हत्या आरोपमा स्थानीय ५० वर्षीय सगमलाल पासमानलाई धनुषा प्रहरीले मंगलबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।
प्रहरीका अनुसार प्रतिवादी पासमानको घरबाट मृतकले लगाएको निलो रङको फुल पाइन्ट, रगत लागेको हरियो रङको भेष्ट, रगत लागेको पहेँलो रङको ज्याकेट, मोबाइल फोनसमेत बराम भएको छ ।
मृतक रामपरीदेवी ठाकुर र प्रतिवादी पासमानबीच पहिलादेखि चिनजान रहेको, मृतक र प्रतिवादीबीच पटकपटक फोन समपर्क भएको, घटना वारदातको दिन पनि फोन सम्पर्क भएको, निज रामपरीदेवी ठाकुर घटनास्थलतर्फ गएको र पछि प्रतिवादी सगमलाल पासमान पनि घटनास्थलतर्फ गएको स्थानीय मानिसहरुले देखेको प्रहरीले जनाएको छ ।
गत १८ मंसिरमा घाँस काट्न घरबाट निस्किएकी रामपरीदेवीको १९ मंसिरमा हत्या भएको अवस्थामा शीर र शरीर अलग(अलग अवस्थामा फेला परेको थियो ।
धनुषा प्रहरीका अनुसार शहीदनगर नगरपालिका–७ स्थित शिवनारायण मण्डलको धान खेतमा रामपरीदेवीको शव फेला परेको थियो भने टाउको २०५ फिट पर कमला नहरस्थित झाडीमा फेला परेको थियो । घटनास्थलबाट रगत लागेको चिरपट, चप्पल र अन्य सामग्री प्रहरीले बरामद गरेको थियो ।