बैंकले ऋण असुलीका निम्ति ताकेता गर्दा बैंकविरुद्ध अदालत गएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंको रिट खारेज भएको छ ।
पूर्वाञ्चल क्यान्सर अस्पताल सञ्चालन गर्न कुमारी बैंकको बिर्तामोड शाखासहितबाट लिएको ऋण असुलीका निम्ति ताकेतापछि प्रसाईंका तर्फबाट टीकाराम अधिकारीले उच्च अदालत विराटनगरको इलाम इजलासमा निषेधाज्ञाको रिट दायर गरेका थिए । गएको असार ८ गते दायर रिट उच्च अदालत विराटनगरको इलाम इजलासका न्यायाधीशद्वय विपुल न्यौपाने र काजीबहादुर श्रेष्ठको इजलासले मंगलबार (हिजो) खारेज गरिदिएको हो ।
रिट खारेजसँगै बैंकलाई ऋण असुलीको बाटो फुकेको छ । साथै बैंकले अब प्रसाईंको पूर्वाञ्चल क्यान्सर अस्पताल समेत लिलाम गर्न सक्नेछ । केही दिनमा आदेशको पूर्णपाठ सार्वजनिक हुने बताइएको छ ।
प्रसाईंले पूर्वाञ्चल क्यान्सर अस्पताल सञ्चालनका लागि चार वटा बैंकबाट ऋण लिएका थिए । पछिल्लो दुई वर्षयता उनले बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण नतिर्ने र मिनाहा हुने अभिव्यक्ति दिँदै आएका छन् ।
प्रसाईंको अभियानका कारण ग्रामिण क्षेत्रमा काम गरिरहेका लघुवित्त वित्तीय संस्थाको लगानी र ऋण असुली प्रभावित हुँदै आएको थियो । वित्तिय संस्थाविरुद्ध गतिविधि गर्नका लागि प्रसाईंले समूह नै तयार गरेका थिए । आफ्नै अस्पतालका लागि लिएको ऋणको असुली रोक्नका लागि भने उनी अदालत पुगेका थिए ।