अपराधजन्य घटनामा वृद्धि, दैनिक १६२ मुद्दा दर्ता

Image

पछिल्लो समयमा सामाजिक अपराधजन्य घटनामा वृद्धि भएको नेपाल प्रहरीको तथ्यांकले देखाएको छ । बुधबार नेपाल प्रहरीले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिकको तथ्यांक सार्वजनिक गर्दै सामाजिक अपराधका घट्नाहरु बढ्दो क्रममा रहेको जनाएको हो ।

चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्मको मुद्दा दर्ता विवरण सार्वजनिक गर्दै नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले दैनिक औसतमा १६२ वटा मुद्दा दर्ता हुने गरेको बताए ।

उनले आत्महत्याका दैनिक २० वटा घट्ना र जबरजस्तीकरणीका दैनिक ७ वटा मुद्दा दर्ता हुने गरेको बताए । उनले गत आर्थिक वर्षको पहिलो चार महिनाको तुलनामा यस वर्षको सोही अवधिमा अपराधका घट्नाहरु बढेको पनि जानकारी दिए ।

उनले कर्तव्य ज्यानमा गत वर्षको यो अवधिमा १९३ मुद्दा दर्ता भएको र यो वर्ष १९२ मुद्दा दर्ता भएको बताए । त्यस्तै जबरजस्ती करणीमा कात्तिक मसान्तसम्म ८२३ वटा मुद्दा दर्ता भएका छन् । गत आर्थिक वर्षको सोही अवधमिा ८०९ वटा मुद्दा दर्ता भएका थिए ।

करणीको उद्योगमा गत आर्थिक वर्षको पहिलो चार महिनामा १६३ मुद्दा दर्ता भएको र यस वर्षको सोही अवधिमा बढेर १८६ वटा पुगेको छ । संगठिक अपराधमा गत वर्ष ५ वटा मुद्दा परेकोमा यस वर्ष ३९ मुद्दा दर्ता भएका छन् ।

लागुऔषधसम्बन्धी मुद्दा गत आर्थिक वर्षको पहिलो चौमासिकमा १ हजार ३६९ रहेकोमा अहिले बढेर १ हजार ६१९ पुगेको छ । सामाजिक र आर्थिक अपराध कम गर्नका लागि प्रहरीले देशभर सचेतना अभियान सञ्चालन गरिरहेको प्रहरी प्रवक्ता अधिकारीले बताए ।