पारस खड्का भन्छन्- म क्रिकेटबाट टाढिएको छैन, भुमिकामात्र बदलिने छ (भिडियो)

अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले आफु व्यवस्थापकको भूमिकामा नेपाली क्रिकेटमा काम गर्ने बताएका छन् ।

बुधवार ललितपुरमा पत्रकार सम्मेलन गर्दै पारसले आफु क्रिकेटमा नटाढिने बताउँदै भुमिकामात्र बदलिने बताएका छन् । मंगलबार उनले अन्तर्राष्ट्रिय क्रिकेट करियरबाट विश्राम लिने निर्णय गरेका थिए । पूर्व कप्तान पारसले दुई वर्षअघिनै संन्यासको विषयमा सोचेको भएपनि टिमलाई सहयोग गर्न मात्र राष्ट्रिय टिममा बसेको उल्लेख गरेका छन् ।

त्यस्तै पारसले कप्तान र खेलाडीको रूपमा आफूले गर्न सक्ने योगदान राष्ट्रिय टिमबाट पुरा गरेको जिकिर गरेका छन् । पारसले आफूले क्रिकेटरको रूपमा हासिल गरेका ठुलो सफलता दर्शकको माया र इज्जत नै भएकाले नेपाली क्रिकेटलाई माथि पुर्‍याउनु आफ्नो कर्तव्य भएको बताए । क्रिकेट क्षेत्रको सुधारका लागि क्यानदेखि लिएर सरकारको पनि साथको आवश्यकता पर्ने उनले बताए ।

झन्डै १९ वर्ष नेपाली टिमबाट खेलेका पारस १० वर्ष कप्तानको भूमिकामा रहेका थिए ।  नेपाली क्रिकेटका सफल कप्तानका रूपमा रहेका पारसको कप्तानीमा नै नेपालले टी २० विश्वकप खेल्नेदेखि लिएर एक दिवसीयमा डेब्यु गरेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार