रााष्ट्रिय स्वतन्त्र पार्टीले डा. ढाकाकुमार श्रेष्ठको ठाउँमा विन्दवासिनी कंसाकारलाई सांसद बनाउने भएको छ । बुधबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले डा श्रेष्ठको साधारण सदस्यता खारेज गरेको हो । पार्टीको सदस्य नरहेपछि श्रेष्ठको सांसद पद पनि रहने छैन ।
ढाकाकुमार श्रेष्ठले माघ १ मा मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ माग गरेको भनिएको अडियो चैत २६ मा सार्वजनिक भएको थियो । समानुपातिक पद्धतिबाट निर्वाचित भएकाले रास्वपाले श्रेष्ठको ठाउँमा अर्को व्यक्तिलाई संसदमा पठाउन पाउँछ ।
सभापति रवि लामिछानेले श्रेष्ठको ठाउँमा मकवानपुरकी कंसाकारलाई सांसद बनाउने निर्णय भएको पत्रकार सम्मेलनमा जानकारी दिए ।
पार्टी सभापति रवि लामिछानेले पार्टीको केन्द्रीय अनुशासन समितिले गरेको छानबिनपछि बुझाएको सिफारिस अनुसार पार्टी विधानको धारा ५६ (४) बमोजिम श्रेष्ठको सदस्यता खारेज गर्ने निर्णय गरेको जानकारी दिए ।
त्यस्तै अडियो रेकर्डको सम्बन्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत अधिकारसम्पन्न सरोकारवाला निकायले थालेको अनुसन्धानमा आवश्यक सहयोग गर्न पार्टी सदैव तयार रहेको उनको भनाई छ ।