नेपाल टेलिकमको सीयूजी सेवामा आवद्ध हुने ग्राहकहरुको संख्यामा वृद्धि

नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप (सीयूजी) सेवामा आवद्ध हुने ग्राहकहरुको संख्यामा वृद्धि हुने क्रम जारी रहेको छ । कुनै संस्था/कार्यालयमा कार्यरत न्यूनतम दश जना मोबाइल प्रयोगकर्ताहरुलाई सीयूजी समूहमा आबद्ध गराउन सकिने कम्पनीका प्रवक्ता राजेश जोशीले जानकारी दिए ।

उनका अनुसार सीयूजी सेवामा आवद्ध सदस्यहरुबीच निःशुल्क रुपमा अनलिमिटेड भ्वाइस कल गर्न, सस्तो दरमा डाटा चलाउन र एसएमएस पठाउन सकिन्छ भने सीयूजीमा आवद्ध नभएका नेपाल टेलिकमको नेटवर्क भित्रका अन्य नम्बरमा कुराकानी गर्न सकिन्छ ।

कर्पोरेट ग्रुपमा आवद्ध सदस्यहरुको आवश्यकतालाई दृष्टिगत गरी रु. २००, रु. ५००, रु. १००० र रु. १५०० दरका विभिन्न सीयूजी प्याकेजहरु उपलब्ध रहेका छन् ।

कम्पनीले उपलब्ध गराइरहेको यस सेवामा प्रिपेड मोबाइलका ग्राहकले रु. २०० को प्याकेज अन्तर्गत सो ग्रुपमा पहिलेदेखि नै उपलब्ध अनलिमिटेड कल बाहेक १०० मिनेट अन नेट (नेपाल टेलिकमको नेटवर्कमा प्रयोग गर्न सकिने) र १० मिनेट अफ नेट (अन्य नेटवर्कमा समेत प्रयोग गर्न सकिने) भ्वाइस सुविधा तथा ५० वटा अन नेट एसएमएस सुविधाका साथै जुनसुकै समयमा प्रयोग गर्न सकिने १ जीबी डाटा सुविधा प्राप्त गर्न सक्दछन् ।

त्यसैगरी पोस्टपेड मोबाइलका ग्राहकले रु. ५०० को प्याकेज अन्तर्गत सो ग्रुपमा पहिलेदेखि नै उपलब्ध अनलिमिटेड कल बाहेक ५०० मिनेट अन नेट र ५० मिनेट अफ नेट भ्वाइस सुविधा तथा १०० वटा अन नेट एसएमएस र ३० वटा अफ नेट एसएमएस सुविधाका साथै जुनसुकै समयमा प्रयोग गर्न सकिने ५ जीबी डाटा सुविधा प्राप्त गर्न सक्दछन् ।

यी दुई बाहेक पोस्टपेड मोबाइलका ग्राहकले रु. १००० र रु. १५०० का अन्य प्याकेज समेत प्रयोग गर्न सक्दछन् । रु. १००० को प्याकेज अन्तर्गत सीयूजी ग्रुपभन्दा बाहिर कम्पनीकै नेटवर्कमा बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म अनलिमिटेड कल वा मासिक जम्मा १००० मिनेट कल गर्न सकिन्छ भने अन्य नेटवर्कमा १०० मिनेट कल गर्न सकिन्छ । साथै यस प्याकेजमा १० जीबी डाटा चलाउन र २०० वटा एसएमएस पठाउन सकिन्छ । यसैगरी रु. १५०० को प्याकेज अन्तर्गत सीयूजी ग्रुपभन्दा बाहिर कम्पनीकै नेटवर्कमा बिहान ७ बजेदेखि बेलुकी ७ बजेसम्म अनलिमिटेड कल गर्ने सुविधा वा मासिक जम्मा १५०० मिनेट कल गर्न सकिने सेवा लिन सकिन्छ । यस प्याकेजमा अन्य नेटवर्कमा २०० मिनेट कलका अतिरिक्त २० जीबी डाटा चलाउन र ४०० वटा एसएमएस पठाउन सकिन्छ ।

कुनै संस्था÷कार्यालयले ग्रुपमा सहभागी गराउनु पर्ने मोबाइल नम्बर र प्राप्त गर्न चाहेको प्याकेज पत्रमा उल्लेख गरी कम्पनीको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्नुपर्छ । न्यूनतम १० जना प्रिपेड÷पोष्टपेड मोबाइल प्रयोगकर्ता समेटी आधिकारिक रुपमा कम्पनीलाई जानकारी गराएपछि तोकिएका ग्राहकलाई सीयूजी प्याकेज उपलब्ध गराइने छ ।

सीयूजी सेवाका बारेमा थप जानकारी लिनका लागि ०१–४२१०२४१ र ०१–४२१०२९१ मा सम्पर्क गर्न सकिन्छ । यसैगरी कम्पनीको वेबसाइटमा रहेको लिंक https://ntc.net.np/services/cug-service बाट पनि यस सम्बन्धी थप जानकारी प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार