यौन उत्पीडनको आरोप पुष्टि भएपछि न्यूयोर्कका गभर्नरले दिए राजीनामा

यौन उत्पीडनको आरोप पुष्टि भएपछि अमेरिकी राज्य न्युयोर्कका गभर्नर एन्ड्रीउ कुमोले राजीनामा दिएका छन् ।

११ महिलामाथि यौन उत्पीडन गरेको छानबिनबाट पुष्टि भएको थियो । त्यसलगत्तै अमेरिकी राष्ट्रपति जो बाइडनले कुओमोले पदबाट राजीनामा दिनुपर्ने बताएका थिए ।

न्युयोर्कका महान्यायाधिवक्तको कार्यालयले कुमोले यौनजन्य हिंसा गरेको ५ महिना लामो छानबिन प्रतिवेदन सार्वजनिक गरेको थियो ।

ती ११ महिलाहरुमाथि विभिन्न प्रकारको यौन हिंसा गरेको भन्दै विगत पाँच महिना अघि उजुरी परेको थियो । सत्ताधारी डेमोक्रेटिक पार्टीका नेता कुमो सन् २०११ देखि निरन्तर न्युयोर्कको गभर्नर पदमा रहेका थिए ।

डेमोक्रेट नेता कुओमोले भने आफूमाथि लागेका आरोपको खण्डन गर्दै आएका छन् । राजीनामा घोषणा गर्ने बेलामा पनि उनले आफूमाथि लागेका आरोप अस्वीकार गरे । उनको राजीनामा १४ दिनपछि लागू हुने र न्यूयोर्कको गभर्नरको जिम्मेवारी क्याथे हकले सम्हाल्ने बीबीसीले जनाएको छ । उनी न्यूयोर्कको नेतृत्व गर्ने पहिलो महिला बन्नेछिन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार