बेपत्ता युवकलाई खोज्न सेतीको ड्याम खोलिने

माछा मार्ने क्रममा पोखराको सेती नदीमा वेपत्ता युवकको खोजि गर्न ड्याम खोलिने भएको छ । कास्की प्रहरीले बिहीबार बिहान ८ बजेदेखि ड्याम खोल्ने भएकाले सचेत रहन तटीय क्षेत्रका बासिन्दालाई आग्रह गरेको छ ।

सेती नदीमा माछा मार्ने क्रममा फागुन १३ गते साँझ पोखरा महानगरपालिका–१ सिम्पानीका सार्की लामा तामाङ सम्पर्कविहीन छन् । पोखरा महानगरपालिका–१७ महतगौडास्थित सेती नदीमा माछा मार्ने क्रममा उनी बेपत्ता भएका थिए ।

उनी बेपत्ता भएको भोलिपल्टदेखि नेपाल प्रहरी, सशस्त्र प्रहरीको गोताखोरको टोलीले खोजि गरिरहेको छ । शव फेला नपरेपछि बाँध खोलेर खोज्न लागिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले जानकारी दिए ।

ड्याम खोल्दा तल्लो तटीय क्षेत्रमा पानीको बहाव बढ्ने भएकाले सुरक्षित रहन उनको आग्रह छ ।

पोखरा महानगरपालिका–१७ महतगौडास्थित सेती नदीमा माछा मार्ने क्रममा वेपत्ता अर्का एकजना भने मृत फेला परेका छन् । पोखरा–१, कसेरीका ४० वर्षीय गंगा तामाङको शव फेला परेको हो । माछा मार्न गएका अरु ३ जना सकुशल उद्धार गरिएको थियो ।