कीर्तिमानी मूल्यमा चेल्सी फर्किए लुकाकु

इंग्लिस क्लब चेल्सीले आफ्ना पूर्व स्ट्राइकर रोमेलु लुकाकुलाई इटलीको इन्टर मिलानबाट क्लब कीर्तिमान ९.७५  करोड पाउण्डमा पुनः अनुबन्ध गरेको छ । २८ वर्षीय बेल्जियन खेलाडी चेल्सीले पाँच वर्षे करार गरेका छन् । सन् २०१४ मा लुकाकुलाई चेल्सीले २.८ करोड पाउन्डमा एभर्टनलाई बेचेको थियो ।

चेल्सीले लुकाकुलाई खर्च गरेको रकम केही दिनअघि म्यान्चेस्टर सिटीले ज्याक ग्रिलिसलाई अनुबन्ध गर्न सर्च गरेको बेलायतको कीर्तिमानी १० करोड पाउन्डभन्दा केही कम मात्र रह्यो । लुकाकु ट्रान्सफरका लागि इतिहासमा नै सबैभन्दा धेरै रकम खर्च गरिएको खेलाडी बनेका छन् ।

लुकाकुले सन् २०१४ मा चेल्सीको सिनियर टोलीबाट मात्र १५ खेल खेल्दै क्लब छाडेका थिए । सन् २०११ मा आन्द्रेलेक्टबाट उनी चेल्सी आएका थिए । सन् २०१४ देखि २०१७ मा एभर्टनबाट खेलेका उनले १ सय ६६ खेलमा ८७ गोल गरे । त्यसपछि दुई सिजन म्यानचेस्टर युनाइटेडमा बिताएका उनले ९६ खेलमा ४२ गोल गरेका थिए ।

सन् २०१९ मा इन्टर मिलान पुगेका लुकाकुले गत सिजन टोलीलाई ११ वर्षपछि लिग जिताएका थिए । उनले लिगमा २४ गोल गरेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार