कोभिड खोप भनेर जर्मनीमा एक नर्सले आठ हजारलाई नुनपानी लगाइदिएको खुलासा

जर्मनीमा एक नर्सले कोभिड-१९ विरुद्धको खोप भनेर आठ हजारभन्दा बढी मानिसहरुलाई स्लाइन पानी लगाइदिएको खुलासा भएको छ । नर्थ सी नजिकै फ्रिसल्यान्डस्थित खोप केन्द्रमा भएको उक्त घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

घटनाबारे सार्वजनिक हुँदा गत मार्च र अप्रिलमा खोप लगाएका ६ जनालाई मात्र नुन पानी दिइएको बताएकी थिइन् । गत अप्रिलमा आरोपित स्वास्थ्यकर्मीले आफूले खोपको बोतल फुटाएपछि ६ जनालाई सलाइन दिएको स्वीकार गरेकी थिइन् ।

तर प्रहरी अनुसन्धानले उनले फाइजरको खोप लगाउने धेरै मानिसलाई नुनपानी खोप लगाएको पुष्टि गरेको छ । प्रभावितहरूमध्ये धेरै ७० वर्षभन्दा माथि उमेरका जोखिम समूहका मानिसहरू भएको बताइएको छ ।

प्रहरीले उक्त घटना राजनीतिक स्वार्थबाट प्रेरित हुनसक्ने सम्भावना नकारेको छैन । ती स्वास्थ्यकर्मीका वकिलले त्यस आरोपलाई अस्वीकार गरेका छन् । यस घटनामा प्रत्यक्षदर्शीसँग बयान लिने क्रम जारी छ । हालसम्म यस घटनाविरुद्ध कुनै पनि मुद्दा दर्ता गरिएको छैन ।

क्षेत्रीय प्रसारक एनडीआरका अनुसार ८ हजार ५५७ मानिसहरूलाई पुनः खोप लगाउनका लागि निर्देशन दिइएको छ । जसमध्ये ३ हजार ६०० जनाले मात्र खोप दोहोर्‍याउनका लागि समय लिएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार