जनकपुर बोल्ट्सलाई सम्मान गर्दै प्रधानमन्त्रीले भनेः यो हामी सबै नेपालीको जित हो

Image

 प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपीएल) पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सका सदस्यलाई सम्मान गरेका छन् । आइतबार बिहान बालुवाटारमा आयोजित कार्यक्रममा उनले टिम क्याप्टेन र खेलाडीका साथै नेपाल क्रिकेट संघ र खेलका व्यवस्थापकलाई सम्मान गरेका हुन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्समाथि पाँच विकेटको विजय हासिल गरेको थियो ।

प्रधानमन्त्री ओलीले आउँदा दिनमा अझ ठूला सफलता हासिल गर्न शुभकामना दिए । विश्वमा ख्यातिप्राप्त ब्याट्सम्यान पनि नेपाली हुन सक्छन् भन्ने देखाउने गरी आत्मबल, सीप र उत्साह कायम गर्न उनले आग्रह गरे ।

“यो हामी सबैको जित हो । नेपालीको जित हो । एनपीएलको जित हो । यस खेलमा तपाईंहरूको असाधारण क्षमता देखिएको छ । दोस्रो हुने सुदूरपश्चिम पनि कमजोर थिएन । कठोर चुनौतीको सामना गरेर विजय हासिल गर्ने जनकपुर बोल्ट्सका खेलाडीहरू बधाईका पात्र हुनुहुन्छ,” उनले भने ।

प्रधानमन्त्री ओलीले अगाडि भने, “तपाईंहरू हिरो हो । नायक र महानायक हो । म तपार्ईंहरूको प्रशंसा गर्दछु । खेलको विकासले देश विकासको स्तर पनि मापन गर्छ । आगामी दिनमा अझ ठूला सफलता हासिलका लागि म शुभकामना दिन्छु ।”

कीर्तिपुर क्रिकेट मैदानको स्तरोन्नतिका निम्ति बोलपत्र आह्वान गरिएको उनले सुनाए । सरकार र आफ्नो तर्फबाट खेल क्षेत्रको विकासका निम्ति गर्नुपर्ने प्रयास निरन्तर हुने उनले अवगत गराए ।

विदेशी खेलाडी नेपाल आउँदा र यहाँको खेल क्षेत्रमा विदेशको लगानी वा सहयोग ल्याउन झन्झटिलो प्रक्रिया भएको क्रिकेट संघ र व्यवस्थापकका गुनासो सुनेपछि प्रधानमन्त्री ओलीले त्यस्तो खालको अवस्था हुन नहुने बताए । सरकारले आवश्यक सहजीकरण गर्ने उनले विश्वास दिलाए ।

संघका अध्यक्ष चतुरबहादुर चन्दले सरकारले क्रिकेट खेललाई प्राथमिकतामा राखेकामा धन्यवाद दिए । विदेशका ठूला खेलाडीलाई श्रम स्वीकृतिमा झन्झटिलो प्रक्रिया अन्त्य गराउन उनले आग्रह गरे ।

उक्त टिमका क्याप्टेन आसिफ शेखले प्रधानमन्त्री ओलीसँग भेटेर बधाई र सम्मान पाउँदा आफूहरूलाई खुसी लागेको बताए ।