रवि लामिछानेसहित ३१ जनाविरुद्ध कास्की अदालतमा अभियोग पत्र दर्ता

एक अर्ब ५१ करोड बिगो दाबी

Image

सहकारी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेसहित ३१ जनाविरुद्धको अभियोग पत्र जिल्ला अदालत कास्की दर्ता भएको छ ।

सरकारी वकिल कार्यालय कास्कीले पेश गरेको प्रमाणपत्र र मिसिलसहितको अभियोग अदालतमा दर्ता भएको कास्की अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछाने गत कात्तिक २ गतेयता कास्की प्रहरीको हिरासतमा छन् । उनीमाथि प्रहरीले सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधमा आठपटक म्याद थपेर अनुसन्धान गरेको थियो ।

रविसँगै पूर्वडीआईजी छविलाल जोशी, लीला पछाईं, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङविरुद्ध पनि मुद्दा दर्ता भएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय कास्कीले जिल्ला प्रहरी कार्यालयको अनुसन्धान प्रतिवेदनमा उल्लेख गरेको रायबमोजिम मुद्दा दायर गरेको हो । प्रहरीले लामिछानेसहित ५१ जनाबाट डेढ अर्ब रुपैयाँ बिगो असुल्नुपर्ने र सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाउनुपर्ने राय दिएको थियो ।

सम्पत्ति शुद्धीकरणको कसुरमा प्रहरीले अनुसन्धानका लागि पाउने ९० दिनको समय सकिएपछि रविसहितका प्रतिवादीहरुलाई आइतबार कार्यालय खुल्नासाथ अदालत पुर्‍याइएको थियो ।

शुक्रबार नै अदालतले दिएको म्याद सकिए पनि शनिबार विदा भएकाले आइतबार मात्रै अभियोगपत्रसाथ सरकारी वकिल कार्यालयले उपस्थित गराएको हो ।