रविपत्नी निकितालाई पनि बनाइयो प्रतिवादी

Image

कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारी ठगी आरोपमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति, पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेकी पत्नी निकिता पौडेललाई पनि प्रतिवादी बनाएर मुद्दा दायर भएको छ ।

पौडेललाई सम्पत्ति जफत गर्ने प्रयोजनको लागि प्रतिवादी बनाएर कास्की जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो । सम्पत्ति जफत प्रयोजनको लागि उनीसहित ५ जनालाई प्रतिवादी कायम गरिएको छ ।

सम्पत्ति जफतका लागि निकितासँगै पद्‌मा बन्जाडे, रोचक जोशी, राधा पछाई, मिना पछाईलाई प्रतिवादी बनाइएको अभियोग पत्रमा उल्लेख छ । उनीहरूको हकमा अदालतबाटै कानुन बमोजिम हुने भनिएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले आज लामिछानेसहित ३१ जनाविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । प्रतिवादीहरुविरुद्ध अर्ब ५१ करोड ४० लाख १९ हजार १९४ रुपैयाँ बिगो दाबी रहेको छ ।

रवि लामिछाने र छविलाल बन्जाडे जोशीसहितका प्रतिवादीहरूलाई तीन वटा कसुरमा अभियोग पत्र दायर गरिएको छ । उनीहरूलाई सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धीकरणको कसुरमा अभियोग लगाइएको छ । प्रतिवादीहरु लिला पछाई र विश्वविक्रम राईविरुद्ध भने क्रिप्टो कारोबारअन्तर्गत पनि मुद्दा अगाडि बढाइएको छ ।