रविको २७ करोड बढी सम्पत्तिको स्रोत खुलेन, सांसद पद स्वत: निलम्बनमा

रविको जग्गा र निकिताको घर जफत गर्न मागदाबी

Image

कास्की जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र संगठित अपराधमा मुद्दा दायर गरिएको छ । लामिछानेको मात्र २७ करोड ८९ लाख रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

सम्पत्ति शुद्धीकरणमा सो रकमको स्रोत नखुलेको भन्दै मुद्दा दायर भएको हो । सम्पत्ति शुद्धीकरणमा मात्रै २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँको स्रोत नखुलेको पाइएको सहायक न्यायाधिवक्ता शान्तिदेवी शर्माले जानकारी दिइन् ।

सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर भएसँगै लामिछानेको सांसद पद स्वत: निलम्बनमा पर्ने भएको छ । सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा (२७) बमोजिम रविको सांसद स्वतः निलम्बन हुने भएको हो ।

मुद्दाको अन्तिम किनारा नलाग्दासम्म उनको सांसद पद निलम्बनको माग कास्की जिल्ला अदालतमा दायर भएको अभियोग पत्रमा पनि गरिएको छ । ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ (संशोधनसहित)को दफा (२७) बमोजिम निज प्रतिवादी रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट चितवन जिल्ला क्षेत्र नम्बर २ को प्रत्यक्षतर्फ निर्वाचित संघीय संसद (प्रतिनिधिसभा सदस्य) रहेकोमा ऐनको दफा (२२) बमोजिम मुद्दा दायर भएपश्चात सो मुद्दा किनारा नभएसम्म निज स्वतः निलम्बन हुने कानूनी व्यवस्था रहेको ब्यहोरा समेत अनुरोध गरिएको छ,’ अभियोग पत्रमा उल्लेख छ ।

साथै जिल्ला सरकारी वकिल कार्यालय कास्कीले रवि र उनकी श्रीमती निकिता पौडेलको नाममा रहेको चलरअचल सम्पत्ति जफत गर्न माग गरेको छ ।

सरकारी वकिल कार्यालयले लामिछानेको नाममा काभ्रेपलाञ्चोक जिल्लाको नाल्दुम बालुवाटापाटी– ९ मा रहेको १ रोपनी १ आना १ पैसा जग्गा र निकिताको नाममा रहेको काठमाडौं बूढानीलकण्ठ ८ मा रहेको ५ आना (३ करोड ८५ लाख रुपैयाँ)को घरजग्गा जफत गर्न माग गरिएको हो ।