थाइल्यान्ड र म्यानमार जाने नेपालीका लागि ट्राभल एडभाइजरी जारी

Image

सरकारले थाइल्यान्ड र म्यानमारमा जाने नेपालीका लागि ट्राभल एडभाइजरी जारी गरेको छ । वैदेशिक रोजगारीमा लगाइदिने प्रलोभन देखाएर नेपालीहरूलाई त्यहाँ पुर्‍याई गैरकानुनी रूपमा काम लगाएको पाइएपछि परराष्ट्र मन्त्रालयले सोमबार ट्राभल एडभाइजरी जारी गरेको हो ।

मानव वेचविखन र विभिन्न अपराधिक गतिविधिमा संलग्न गिरोहहरूले नेपालीलाई कम्बोडिया, लाओस र म्यानमारमा लगी जबरजस्ती अवैध कार्यमा लगाउने, रोजगारदाताले राहदानी खोसिदिने, १२-१३ घण्टासम्म काममा लगाउने, चरम यातना दिने, तलब नदिने लगायतका समस्याबारे उजुरी पर्ने गरेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । ‘याहुन र बैंककमा आवेदन गर्ने नेपालीहरूको संख्यामा उल्लेखनीय रूपमा बढोत्तरी भइरहेको घटनाप्रति यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ । वैदेशिक रोजगारीमा लगाइदिने वा यस्तै प्रकृतिका अन्य प्रलोभनमा पारी ठूलो रकम लिई कुनै व्यक्तिलाई विदेशमा पुर्‍याई अलपत्र पार्ने एवं नेपाल सरकारको प्रचलित कानुनबमोजिम निषेध गरिएका कार्यमा संलग्न हुने वा यसखाले क्रियाकलाप गर्नेरगराउने कार्य कानुन बमोजिम दण्डनीय भएकाले यस्ता गैरकानुनी कार्यहरु नगर्नरनगराउन र यसतर्फ सचेत रहन सम्बन्धित सबैमा हार्दिक अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ ।

अनलाइन जुवा, कल सेन्टर फ्रड, क्रिप्टो करेन्सी ठगी आदिमा संलग्न शंकास्पद आइटी फर्महरूले बैंककमा रोजगारीका अवसरहरूको प्रलोभन देखाई युवाहरूलाई ठगी गरिरहेको र पीडितहरुलाई गैरकानुनी रूपमा बैंकक हुँदै कम्बोडिया, लाओस र म्यानमार ल्याई बन्दी बनाएर काम गर्न लगाइएको पाइएको एवं थाइल्याण्ड र म्यानमारमा रोजगारीका विज्ञापनहरू प्रायः सामाजिक सञ्जाल प्लेटफर्महरू मार्फत विभिन्न स्थानका एजेन्टहरूद्वारा प्रस्तावित हुने भएकाले त्यस्ता सामाजिक सञ्जाल प्लेटफर्म वा अन्य स्रोतहरूमा प्रचार गरिएका नक्कली जागिरको प्रलोभनमा नपर्न आग्रह गरिएको छ ।

त्यस्तै वैदेशिक रोजगारमा जाने प्रयोजनका लागि भिजिट भिसामा यात्रा नगर्न र रोजगारीको प्रस्ताव स्वीकार गर्नुअघि विदेशस्थित सम्बन्धित नेपाली नियोगमार्फत विदेशी फर्मरकम्पनीर रोजगारदाताहरूको बारेमा पर्याप्त जानकारी लिन तथा व्यक्तिगत रूपमा ती फर्मरकम्पनीररोजगारदाताहरूको वेवसाइट चेकजाँच गर्न एडभाइजरीमा भनिएको छ ।