सर्लाहीमा ट्याक्टरको पछाडि स्कुटर ठोकिँदा एकजना नगर प्रहरीको मृत्यु भएको छ ।
गएराति ११ बजे पूर्वपश्चिम राजमार्गमा पर्ने हरिवन-९ नोचामा भएको दुर्घटनामा हरिवन नगरपालिकामा कार्यरत नगर प्रहरी युवकको मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिवनका इन्सपेक्टर किशोर तामाङले जानकारी दिए ।
मृत्यु हुनेमा हरिवन नगरपालिका वडा नम्बर-८ निवासी २५ वर्षीय कवि रिखाम मगर छन् । राति ११ बजे हरिवनस्थित इन्दुशंकर चिनी उद्योगमा उखु पुर्याएर फर्किरहेको ना ६ त ३०५० नम्बरको ट्याकटरमा बागमती प्रदेश ०२-०२८ प ६५०८ नम्बरको स्कुटर पछाडिबाट ठोकिँदा दुर्घटना भएको इन्सपेक्टर तामाङले बताए ।
‘दुर्घटनामा गम्भीर घाइते भएका मगरको उपचारको क्रममा राति नै बाराको न्यूरो अस्पतालमा मृत्यु भएको हो,’ तामाङले भने, ‘दुर्घटनामा घाइते भएका हरिवन-८ कै करिब ४० वर्षीय रामजी बस्नेतको न्युरोमै उपचार भइरहेको छ ।’ बस्नेत स्कुटरको पछाडि सवार थिए ।
बस्नेतको अवस्था भने खतरामुक्त रहेको प्रहरीले जनाएको छ । दुर्घटनापछि ट्याक्टर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।