सरकारको कार्यशैलीसँग जनता सन्तुष्ट छैनन् : डिला संग्रौला

Image

नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. डिला संग्रौलाले वर्तमान सरकारको कार्यशैलीप्रति जनता सन्तुष्ट हुन नसकेको बताएकी छन् ।

मंगलबार रिपोर्टस क्लब नेपाल लुम्बिनी प्रदेशले बुटबलमा आयोजना गरेको साक्षात्कारमा संग्रौलाले जुन उद्देश्यका साथ सरकार गठन भएको हो, त्यो उद्देश्य पुरा गर्न सफल नभएको बताइन् । काँग्रेसले सञ्चालन गरेको १०० दिने अभियानको क्रममा जनतासँग पुग्दा जनताले विकासको अनुभुति नगरेको, सरकार सञ्चालनमा भएकाहरु अल्मलिएको पाइएको उनले बताइन् ।

‘वर्तमान सत्ता गठबन्धन सत्ताको लागि मात्र होइन, अस्थिरता अन्त्यसँगै संविधान संशोधनकै लागि कांग्रेस(एमाले एक ठाउँमा सहकार्य गर्न पुगेका हुन्’, उनले भनिन्, ‘संविधान संशोधनमा निर्वाचन प्रणालीसहितका संरचना संशोधन गर्नका लागि प्रक्रिया अगाडि बढ्नुपर्छ । सरकार विधिको शासनलाई पालना गर्दै स्टन्टबाजी गर्नेहरूलाई, भष्ट्राचार गर्नेहरू जो कोही भएपनि कसैलाई नछोडेर कारबाही गर्नुपर्छ ।’

उनले मुलुकको अस्थीरताका लागि र संविधान संशोधनका लागि ठूला दल मिलेर सरकार बनाएको भन्दै गम्भीर भएर अघि बढ्नुपर्नेमा जोड दिइन् । संविधान संशोधनमा निर्वाचन प्रणााली सहितका संरचना संशोधन गर्नका लागि प्रक्रिया अगाडी बढेको उनले बताइन् ।

संग्रौलाले क्रियाशिल वितरणको काम सुरु भएसँगै महाधिवेशनको तयारी सुरु भएको बताउँदै समयमै काँग्रेसको महाधिवेशन हुने कुरामा विश्वस्त भएको धारणा राखेकी छन् । काँग्रेसको आगामी निर्वाचनमा पार्टीको नेतृत्व गर्नका लागी उत्तराधिकारी कसैको कोही नहुने बताउँदै भिजन र मिसन भएको व्यक्तीले पार्टीको नेतृत्व गर्ने उनको भनाइ छ ।