गृहमन्त्री रमेश लेखकले कांग्रेस र नेकपा एमालेको कार्यदल बनाएर संविधान संशोधनको छलफलको प्रक्रियालाई प्रारम्भ गर्ने बताएका छन् ।
नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको नवौं राष्ट्रिय महाधिवेशन तथा ४२ औं वार्षिक साधारण सभामा बोल्दै गृहमन्त्री लेखकले सरकारले संविधान संशोधन गर्न आवश्यक गृहकार्य अघि बढाइसकेको भन्दै छिटै दुई दलीय कार्यदल बनाएर छलफल सुरु गर्ने बताए । उनले संविधान संशोधनका लागि राष्ट्रिय सहमति बनाउने जिकिर गरे ।
उनले संविधानका १० वर्षको अभ्यासका दौरानमा देखिएका संविधानका सबल र दुर्बल पक्षको समीक्षा गरेर मात्रै संविधान संशोधन हुने बताए ।
‘हामीले संविधान संशोधनको विषयलाई छलफलमा अघि बढाउन प्रारम्भ गरिसकेका छौँ,’ उनले भने, ‘हामी संविधानका १० वर्षको अभ्यासका दौरानमा देखिएका संविधानका सबल र दुर्बल पक्षको समीक्षा गर्नेछौँ । संविधानमा समासामयिक रुपले परिमार्जन गर्नेछौँ ।’
संविधानको समिक्षाका साथै विषयवस्तुको पहिचान गरेर संशोधनको प्रक्रिया अघि बढाइने उनले बताए । गृहमन्त्री लेखकले संविधान संशोधनका लागि भने केहि समय लाग्ने धारणा राखेका छन् । उनले समावेशितालाई कमजोर गर्न नभई थप सुदृढ बनाउनका लागि संविधान संशोधन गरिने प्रतिवद्धता जनाए ।
लेखकले संविधानको भावना अनुसारको कानून बन्न नसकेकाले दलित समूदायको अधिकार प्रत्याभूत हुन नसकेको उल्लेख गरे । दलित समूदायको अधिकार स्थापित गर्नका लागि थप कानून निर्माण गर्ने उनको भनाइ छ ।