पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुद्दा दायर भएका छविलाल जोशीको बयान सकिएको छ ।
सोमबारदेखि सुरु भएको पूर्वडीआईजीसमेत रहेका गोर्खा मिडियाका पूर्वउपाध्यक्ष जोशीको बयान मंगलबार दिउँसो सकिएको हो । जोशीको बयान सकिएसँगै गितेन्द्रबाबु राईसँग मिलेर सहकारीको रकम अपचलनको अभियोग लागेकी लिला पछाईंको बयान सुरु भएको छ ।
आजबाट रवि लामिछानेको बयान हुने अनुमान थियो । तर, लामिछानेको बयान सुरु हुन अझै केही दिन लाग्ने बताइएको छ । लामिछाने गत कार्तिक २ गतेदेखि प्रहरी हिरासतमा छन् ।
सरकारी वकिलको कार्यालय कास्कीले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोपमा ५१ जनाविरुद्ध अभियोग दर्ता गराएको थियो । अभियोग दर्ता भएसँगै हिजोबाट जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा बयान जारी छ ।