५४ जिल्लाको १ लाख ७२ हजारभन्दा धेरैले पाए नेपाल टेलिकमको एफटीटीएच

नेपाल टेलिकमको एफटीटीएच सेवा ५४ जिल्लाका १ लाख ७२ हजारभन्दा धेरै ग्राहकमा पुगेको छ । टेलिकमले २०७८ साउन २८ सम्मको प्रगति विवरणमा यस्तो देखिएको हो ।

२०७५ सालमा १ हजार ७ सय ३८ ग्राहकलाई मात्र यो सेवा उपलब्ध भएकोमा २०७६ मा ३० हजार ८ सय ७९ ग्राहकलाई र २०७७ मा १ लाख ७ हजार ७ सय१ ग्राहकलाई यो सेवा उपलब्ध भएको थियो । यसैगरी २०७८ बैशाख, जेठ, असार र साउनको २८ गतेसम्म करिब ४ महिनामा ६४ हजार २ सय ९९ नयाँ लाइन वितरण भएको हो ।

नेपाल टेलिकमले एफटीटीएच सेवाअन्तर्गत मुख्यतः भ्वाइस र डाटा सेवा मात्र उपलब्ध गराइरहेकोमा गत २०७७ पुस १७ देखि एनटी टिभी ब्रान्डमा आईपी टिभी सेवा समेत उपलब्ध गराउन सुरु गरेको थियो ।

प्रारम्भमा काठमाडौं उपत्यका र बनेपामा मात्र उपलब्ध गराइएको एनटी टिभी सेवा हाल भरतपुर, हेटौंडा, लाहान, टाँडी, धुलिखेल, नगरकोट, पोखरा, सौराहा, बुटबल, बर्दघाट, बागलुङ, तौलिहवा, सन्धिखर्क, भैरहवा, पाल्पा, सिसुवा, तम्घास, दमौली, धादिङ, परासी, मंगलापुर र सिराहालगायत स्थानमा पनि विस्तार भइसकेको छ ।

उच्च गतिको भरपर्दो इन्टरनेट सेवाका लागि उपयोग भइरहेको एफटीटीएच सेवाले भ्वाइस टेलिफोनका लागि तामाको तारको विकल्पको रुपमा फाइबर उपलब्ध गरेको छ भने सोही फाइबरबाट टेलिभिजन सेवा पनि उपलब्ध भए पश्चात ट्रिपल प्लेको अवधारणा कार्यान्वयन भएको छ । यस आर्थिक वर्षमा मुलुकभरका ६५ जिल्लामा एफटीटीएच सेवाको विस्तार गर्ने कम्पनीको योजना रहेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार