प्रधानमन्त्रीलाई कर्मचारीको अनुराेधः विमानस्थल हवाई माफियाले लाने भयो विधेयक स्थगन गरिदिनुस्

नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारीहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्राधिकरण विभाजन गर्ने विधेयक स्थगन गर्न अनुरोध गरेका छन् ।

सीमित समूहको स्वार्थमा लागेर नेपाल नागरिक उड्डयन प्राधिकरणलाई टुक्र्याउने विधेयक संसदमा पेश गरेको भन्दै त्यसको विरुद्धमा केही दिनदेखि चरणबद्ध आन्दोलनमा उत्रिएका  संयुक्त ट्रेड युनियन आन्दोलन संघर्ष समितिले प्रधानमन्त्री देउवालाई तत्कालै विधेयक स्थगन गर्न अनुरोध गरेका हुन् ।

विधेयक पास गराउन प्राधिकरणका महानिर्देशक राजन पोखरेलनै लागेको भन्दै बिहीबार कर्मचारीहरुले उनको कार्यकक्षमा तालासमेत लगाएका छन् । केही दिनदेखि पेन डाउन र कार्यकक्ष घेराउ गर्दै आएका कर्मचारीहरुले शुक्रबार पत्रकार सम्मेलन गरी प्रधानमन्त्री देउवालाई विधेयक अगाडि नबढाउन अनुरोध गरेका छन् ।

कर्मचारीहरुले एउटै क्षेत्रमा दुई/दुईवटा प्राधिकरण विश्वमा कहीँ पनि नभएकोे युरोपियन युनियन(ईयु)को हवाला दिई केही सीमित व्यापारीको स्वार्थपूर्तिका लागि मात्र सार्वभौम मुलुकमा भइरहेको विदेशी संघ–संस्थाको नाङ्गो हस्तक्षेप रोक्न प्रधानमन्त्रीको ध्यानाकर्षणसमेत गराएका छन् ।

निहित उद्देश्य पूर्तिका लागि संस्था बाहिरबाट महानिर्देशक र प्रमुख कार्यकारी अधिकृत एवं सञ्चालकहरुको नियुक्ति हुँदा राष्ट्र कर्मचारीहरुको मानमर्दन र हुर्मत लिने जस्ता प्रवृत्ति बढ्न गई कर्मचारीहरुको मनोबल गिराउने भएकाले उड्डयन सुरक्षाको स्तर घट्न सक्ने र यात्रुको जिउ ज्यानको जोखिम बढ्ने अवस्था सिर्जना हुन सक्ने जनाएको छ ।

संयुक्त ट्रेड युनियनले जारी गरेको विज्ञप्तिमा हवाई सुरक्षा एवं उड्डयन सुरक्षा जस्तो संवेदनशील क्षेत्रमा मनोमानी ढंगले विमानस्थलको सञ्चालन र व्यवस्थापन निजी कम्पनीलाई दिँदा सुरक्षा स्तरमा सम्झौता भई राष्ट्रिय छविमा समेत आच आउने उल्लेख छ ।

योसँगै देशभरिका विमानस्थलहरुको सञ्चालन खर्च थेग्दै आएको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थललाई हवाई माफियाहरुको चंङ्गुलमा पार्नबाट यो विधेयक रोक्न आवश्यक रहेको बताइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार