नेकपा एमालेले पूर्वउपाध्यक्ष भीम रावललाई पार्टीको संगठित सदस्यबाट हटाएको छ ।
बुधबार बसेको सचिवालय बैठकले रावललाई पार्टीबाटै हटाउने निर्णय गरेको हो । उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार पूर्वउपाध्यक्ष रावलले निरन्तर पार्टीलाई कमजोर बनाउने अभिव्यक्ति दिइरहेकाले संगठित सदस्यबाट हटाउने निर्णय गरिएको हो ।
त्यस्तै, बैठकले पार्टी कार्यालय निर्माणका सन्दर्भमा दिएको अभिव्यक्तिका बारेमा स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सेनालाई सोधिएको स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएको भन्दै पार्टीको निर्देशनमा चल्न निर्देशित गर्दै ६ महिनाका लागि जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको छ ।
बैठकले सरकारको कामकारवाहीका सन्दर्भमा सन्तुष्ट रहेको भन्दै सरकारका काममा गति ल्याउनुपर्ने आवश्यकता बोध गरेको उपमहासचिव ज्ञवालीले बताए । वर्तमान सरकारका कारण आर्थिक अवस्था सुुधार हुँदै गएको, अन्तराष्ट्रिय सम्बन्ध सुदृढ हुदै गएको उनले बताए ।
सचिवालय बैठकले संविधान संशोधन गर्न, संसदमा बिचाराधिन रहेका विधेयकलाई अन्त्य गर्नका लागि र बिभिन्न बिषयमा समान धारणा बनाउन चार–चार सदस्यीय दुईदलीय संयन्त्र बनाउने निर्णय गदै संयन्त्रको सुझावका आधारमा अघि बढ्ने निर्णय गरेको छ । बैठकले पार्टीको केन्द्रीय कमिटी बैठक पुष २१ र २२ गते बोलाउने निर्णय गरेको छ ।
बैठकका लागि राजनीतिक प्रतिवेदन, संगठनात्मक कामका बारेमा जानकारी , यसअघि सचिवालय, स्थायी कमिटी तथा पोलिट्व्युरो बैठकले गरेका निर्णय अनुमोदन र समसामायीक प्रस्ताव सहितका चार वटा एजेण्ड तयार गरेको ज्ञवालीले बताए ।