अजरबैजान एयरलाइन्सको यात्रुवाहक विमान दुर्घटनामा ३८ जनाको मृत्यु भएको छ ।
पाँच चालक दलसहित ६७ जना सवार विमान बुधबार कजाकिस्तानको अक्ताउ शहर नजिकै दुर्घटना भएको थियो । घटनामा ३८ जनाको मृत्यु तथा दुई बालबालिकासहित २९ जनाको भग्नावशेषबाट उद्धार गरिएको सीएनएनले जनाएको छ ।
उद्धार गरिएकामध्ये ११ जनाको अवस्था गम्भीर रहेको कजाकस्तानका उपप्रधानमन्त्री कानाट बोजुम्बेभले बताए । उनले भने, ”शवहरू खराब अवस्थामा छन्, धेरै जसो जलेका छन्, सबै जम्मा गरिएको छ ।”
जहाजमा अधिकांश अजरबैजानी नागरिक थिए तर रुस, काजाकिस्तान र किर्गिस्तानका केही यात्रुहरू पनि थिए । एक खोज टोलीले विमानको ब्ल्याक बक्स फेला पारेको छ । अजरबैजान र काजकिस्तान दुवैले दुर्घटनाको कारणबारे अनुसन्धान थालेका छन् ।
समाचार एजेन्सी रोयटर्सकाअनुसार विमान बाकुबाट रुसको चेचन्याको ग्रोज्नी जाँदै थियो । तर, बाक्लो हुस्सुका कारण उक्त विमानको रुट परिवर्तन गरिएको थियो । रोयटर्स समाचार एजेन्सीले प्रमाणित गरेको भिडियोमा ल्यान्डिङ गियर डाउन भएको विमान तीव्र गतिमा जमिनतर्फ गइरहेको देखिन्छ ।
अवतरण गर्ने प्रयास गरेको सेकेन्डपछि ठूलो फायरबल विस्फोट भएको देखिन्छ । भिडियोमा विमान दुर्घटना हुनुअघि एयरफिल्डमा अनियमित परिक्रमा गरिरहेको देखिन्छ ।